विराटनगर । विराटनगर सीमापारी रोकिएका मालवस्तुसहितका मालवाहक सवारी मंगलबारदेखि नेपाल प्रवेश गर्न थालेका छन् । भारतबाट नेपालतर्फ निर्यात हुने मालवस्तुमा भारतको केन्द्रीय भन्सार विभागले नयाँ नियम लगाएपछि विराटनगर सीमापारि सयौं मालवाहक सवारी साधन रोकिएका थिए ।
औद्योगिक र व्यापारिक प्रयोजनका लागि भारतबाट नेपाल आउने मालवस्तु हतियार वा विष्फोटक पदार्थमा प्रयोग गहुनसक्ने भन्दै कडाइ गरेपछि विराटनगरको सीमावर्ती भारतीय नाका जोगबनी क्षेत्रमा ३ सयभन्दा बढी मालवाहक सवारी रोकिएका थिए ।
विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष देवकी शर्माका अनुसार यसरी रोकिएका मालवाहक सवारीसाधनहरु मंगलबारदेखि नेपाल आउन थालेका छन् । ‘भारतीय भूभागमा धेरै मालवाहक साधन रोकिएका थिए,’ शर्माले भने ‘मंगलबारदेखि ती साधन आउन थालेका छन् ।’
विभिन्न रासायनिक पदार्थ, भिटामिन तथा ओखतीहरू, उपचारमा प्रयोग गरिने धूलो, मेडिकल केमिकल्स, भ्याक्सिन, इन्सुलिन र पशु भ्याक्सिन लगायतका वस्तु लिएर आउँदै गरेका साधन भारतले रोकेको थियो । त्यस्तै टाँस्ने गम, खोटो, रोजिन र टर्पेन्टाइन वर्गका मालवस्तु, पिभिसी सेट, प्लास्टिक सामग्री, सिसा र सिसाबाट बनेका मालसामान, जिङ्क, निकल, गन्धक र ८ फलामे झ्यालढोकाका सामग्री पनि रोकिएका थिए ।
भन्सार कार्यालयका अनुसार औद्योगिक मिलमेसिनरी, विद्युतीय सामग्री, मोटर पार्टस् र मेडिकल इक्विपमेन्ट पनि रोकिएका थिए । रोकिएका सामान आयातको लागि मालवस्तु निर्यात गर्ने कम्पनी, उद्योग वा फर्मले भारतीय भन्सार कार्यालयका प्रमुखका नाममा ती मालवस्तु एसकोमेटअन्तर्गत नपर्ने घोषणासहित कुन प्रयोजनको लागि निर्यात गर्न खोजिएको हो भन्ने खुलाएर फारम भर्नुपर्ने र त्यसलाई भारतीय भन्सारले स्वीकृत गरेपछि जाँचपास हुने भन्सार एजेन्ट संघले जनाएको छ ।
अध्यक्ष शर्माका अनुसार नयाँ भारतीय नियम लगाइएपछि विरानगर भन्सारका एजेन्टहरू जोगबनी भन्सारका असिस्टेन्ट कमिस्नर अशोक दाससमक्ष निकासी–निर्यात सहजीकरणका लागि पुगेका थिए । एसी दासले भारतको केन्द्रीय भन्सार विभागबाटै आएको परिपत्रअनुसार मालवस्तुको निर्यातमा कडाइ गरिएको जानकारी दिएका छन् ।
विराटनगर भन्सारका प्रमुख ताराप्रसाद सापकोटाले नेपाल आउने मालवस्तु भारतीय भूमिमा रोकिएको जानकारीपछि सहजीकरण गरिएपछि आउन थालेको बताएका छन् ।