काठमाडौं । सरकारले आजदेखि एक वर्ष तीन महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइड विरुद्धको खोप दिन सुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका देशभरका ७५ लाख बालबालिकालाईआजदेखि वैशाख १८ गतेसम्म उक्त खोप दिइने छ ।एक वर्ष तीन महिनादेखि १५ वर्ष उमेरसम्मका सबै बालबालिकालाई एक पटक टाइफाइड विरुद्धको खोप लगाइने स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालले जानकारी दिए ।
नेपाल दक्षिण एसियामा टाइफाइड विरुद्धको खोप लगाउने पहिलो मुलुक भएको र विश्व स्वास्थ्य सङ्गठनले नेपालसहित टाइफाइडबाट पीडित अन्य देशमा पनि खोप लगाउन सिफारिस गरेको हो । खोप अभियानअन्तर्गत देशभर ५६ हजार ४ सय खोप केन्द्र र २९८ विद्यालयमा खोप लगाइने र यसका लागि १० हजार स्वास्थ्यकर्मी र एक लाख १२ हजार ८ सय ५८ स्वयमसेवक परिचालन भएका छन् ।
विगत पाँच वर्षको तथ्याङ्क हेर्दा नेपालमा चार लाख ५० हजारभन्दा बढीमा टाइफाइड रोगको संक्रमण देखिने गरेको शाखा प्रमुख दाहालले बताए। उनका अनुसार सन् २०१९ मा ८२ हजार ४ सय ४९ टाइफाइडका विरामी रहेको अनुमान गरिएको थियो । यसकोे संक्रमण सबै उमेर समूहमा देखिए पनि १५ वर्षभन्दा मुनिका बालबालिकामा बढी हुने गरेको छ ।
टाइफाइड साल्मोनेला टाइफीबाट हुने कडा खालको रोग हो । ढल वा सङ्क्रमित व्यक्तिको दिशामा पाइने टाइफाइड रोगको जीवाणु स्वस्थ व्यक्तिमा दूषित खाना वा पानीको माध्यमबाट सर्दछ । यो रोग लागेमा उच्च ज्वरो आउने, टाउको दुख्ने, जीउ दुख्ने, पसिना आउने, पखाला लाग्ने र वान्ता हुनेजस्ता लक्षण देखिने गर्दछ ।