कटहरी गाउँपालिकाको अध्यक्ष बन्ने तयारीमा रहेका पाण्डेले छोडे वडाध्यक्षको जिम्मेवारी

विराटनगर । वडा सदस्य माल्दी ऋषिदेवलाई कार्यवहाक दिएर कटहरी गाउँपालिका २ का वडा अध्यक्ष किशोर पाण्डेले वडाध्यक्षको जिम्मेवारी छोडेका छन् । आगामी निर्वाचनमा गाउँ पालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरिरहेका पाण्डेले पार्टीको गतिविधिमा समय दिनु परेको भन्दै वडा सदस्यलाई कार्यवहाक दिएका हुन् ।

नेकपा माओवादी केन्द्रका कटहरी गाउँपालिका अध्यक्षसमेत रहेका पाण्डेले आगामी स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका छन् । चुनाव नजिक आउँदै गर्दा पार्टीमा बढी समय दिनुपर्ने र वडाध्यक्षको जिम्मेवारीसमेत निर्वाह गर्दा समयमा जनतालाई सेवा दिन नसकिने भएपछि उनले जेठ ५ गतेसम्मका लागि सदस्यलाई कार्यवहाक दिएका हुन् । कटहरी २ मा माओवादी केन्द्रको तर्फबाट पाण्डेमात्र निर्वाचित भएका थिए । बाँकी चार जना सदस्यहरु नेपाली काँग्रेसबाट निर्वाचित भएका थिए ।

कार्यवहाक दिएर वडाध्यक्षको जिम्मेवारीबाट अलग हुँदै गर्दा उनले सामाजिक सञ्जाल फेसबुकबाट एक भिडियो सन्देश दिँदै आप्mनो कार्यकालमा वडाको विकासमा आफूले गरेको पहलको बारेमा संक्षिप्त जानकारी दिए । उनले राज्य निमुखा र निम्न वर्गका जनताको पक्षमा रहनु पर्ने मान्यतामा आधारित भएर आफूले काम गरेको बताएका छन् ।
निर्वाचित भएको एक महिनाभित्रै आएको बाढी र डुवानका क्रममा जनप्रतिनिधिको रुपमा मानवीय सहयोग गरेको, तत्कालीन समयमा सकेसम्म राहतको प्रवन्ध गरेको भएपनि नेपाल सरकारबाट क्षतिपूर्तिका लागि प्राप्त भएको ४ करोड रुपैयाँ वितरण गर्न नसकेको र फिर्ता गएको उनले बताए ।

शिक्षा क्षेत्रमा सोचेजस्तो काम गर्न नसकेपनि आफ्नो वार्डमा केही सुधारको काम गरेको उनले बताएका छन् । शिक्षामा अझैपनि सुधारका धेरै काम गर्नुपर्ने अवस्था रहेको भन्दै पाँच वर्षे कार्यकालमा गाउँपालिकाको नेतृत्वले वृहत सोच राख्न नसक्दा सम्भावना हुँदाहुँदै पनि सोचेजस्तो काम गर्न नसकेको उनले बताए ।

भौतिक पूर्वाधार तर्फ वडाका धेरै बाटोघाटो अविकसित रहेकोमा अहिले अधिकांश बाटो ग्राभेल गरेको र अब वडाका धेरै बाटो पिच बनाउने अवस्थामा पु¥याएको उनले बताए । हरेक वर्ष हुने डुवानको समस्या अन्त्य गर्ने प्रयास स्वरुप एउटा नाला सिंघिया खोलामा खसाल्न सफल भएपनि एउटा क्रेटबस्कको प्राविधिक डिजाइन ठिक ढंगले नहुँदा पानी निकासको प्रयत्न सफल नभएको उनले बताए । त्यस विषयमा आफूसमेत सन्तुष्ट हुन नसकेको उनले प्रष्टीकरण दिएका छन् ।

बाढी र डुवानको समस्याबाट निस्किनासाथ कोरोना महामारी सुरु हुँदा धेरै काम गर्ने वातावरण नबनेपनि विभिन्न संघ संस्थाहरुसँग सहकार्य गरेर चक्रपथ क्षेत्रमा बसोबास गर्दै आएका २० घर सुकुम्बासीलाई थोरै भएपनि जमिनको मालिक बनाउँदै उनीहरुलाई घर बनाइदिन सफल भएको उनले बताए । विपन्नहरुको घर निर्माणका लागि आफूले गरेको पहल, स्थानीय जीवन विकास संस्था र ह्याविटेट नेपालको तर्फबाट सहयोग भएको उनले बताए । उनले जीवन विकास संस्थाको सहयोग र स्थानीयबासीको लागत साझेदारीमा शौचालय निर्माण गरी खुला दिशामुक्त कार्यक्रम अगाडि बढाएको बताए ।

ऋषिदेव समुदायको आर्थिक सामाजिक विकासकालागि उनीहरुलाई निजी जग्गाको मालिक बनाउने, सहकारी मार्फत उत्पादन र बचत गर्ने, सस्तोमा कर्जा पाउने वातावरण बनाउन उनीहरुलाई सहकारीमा आवद्ध गराउनसमेत आफू सफल भएको उनले बताए । उनले वडामा प्रशासनिक सुधारमा ध्यान दिएको दाबी गर्दै जनप्रतिनिधि र कर्मचारीहरुले नै निवेदन लेखिदिने, फारम भरिदिने, आवश्यक कागजात मिलाउन सहयोग गर्ने जस्ता काम गरेको स्मरण गर्दै अन्य कतिपय वडामा लेखनदासबाट काम गराउने र त्यसवापत सेवाग्राहीले रकम खर्च गर्नुपर्ने अवस्था आप्mनो वार्डमा आउन नदिएको पनि बताए ।

मङ्गलबार, २२ चैत, २०७८, साँझको ०६:२० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर