विराटनगर । मोरङको लेटाङमा एक जना महिला प्रहरीको हत्या प्रकरणमा प्रहरीले ६३ जनालाई पक्राउ गरि अनुसन्धान सुरू गरेको छ । मोरङ प्रहरीले २० जना विरूद्ध कर्तब्य ज्यान र ४३ जना विरूद्ध ‘अभद्र व्यवहारको’ मुद्दामा म्याद थप गरि अनुसन्धान सुरू गरेको हो ।
चैत ६ गते मोरङको लेटाङमा हिंसात्मक झडप हुँदा प्रहरी जवान २६ वर्षीय उर्मिला श्रेष्ठको हत्या भएको थियो । सोही घटनामा संलग्न भएको आरोपमा प्रहरीले एक जना महिलासहित २० जनालाई पक्राउ परेको छ ।
पक्राउ पर्नेहरूमा लेटाङ नगरपालिका ५ का ४८ वर्षीय चन्द्र तामाङ भन्ने चन्द्र कान्त लामा, सोही ठाउँका २५ वर्षीय रविन राई, २० वर्षीय रविन तामाङ, ६ का १८ वर्षीय बलराम भन्ने पालाराम राई, सोही वडाका १८ वर्षीय राम राई, १८ वर्षीय सन्तोष पौडेल, २० वर्षीय हिमाल श्रेष्ठ, लेटाङ ५ का २३ वर्षीय प्रदिप राई, सोही वडाकी १८ वर्षीय निशा पुलामी मगर, १८ वर्षीय सुरज अधिकारी, १९ वर्षीय संंजय मगर रहेका छन् । यस्तै मिक्लाजुङ्ग गाउँपालिका २ घर भइ लेटाङ ५ का २० वर्षीय कृष्ण विक, लेटाङ ५ का संजीव प्रधान, प्रनिस कट्टेल, झविन भन्ने जस्वीन पाख्रिन, सनिल लिम्बु, प्रलाद खड्का, अर्पण परियार, पासाङ तामाङ र लेटाङ ६ का श्रवण यादवलाई पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ । प्रहरीले उनीहरूलाई कर्तब्य ज्यान मुद्दामा म्याद थप गरि अनुसन्धान गर्दै आएको प्रहरीले जनाएको छ ।
यस्तै संजोग राईसहित ४२ जना विरूद्ध प्रहरीले जिल्ला प्रशासन कार्यालय मोरङमा ‘अभद्र व्यवहारको’ मुद्दामा म्याद थप गरि अनुसन्धान सुरू गरेको छ ।
पक्राउ परेकामध्ये १० जना विद्यार्थी छन् । अब बढीमा सात दिनभित्र सबै अनुसन्धान पूरा गरेर मुद्दा दर्ताको प्रक्रिया अगाडी बढाउने तयारी गरेको मोरङ प्रहरीका प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए ।
शिक्षकले छात्रामाथि यौनजन्य दुरव्यवहार गरेको आरोपपछि चैत ६ गते मोरङको लेटाङस्थित शिक्षा विकास माध्यामिक विद्यालयमा हिंसा भड्किएको थियो । घटनामा महिला प्रहरी उर्मिलाकोे ज्यान गएको थियो । घटनालगत्तै जिल्ला प्रशासन कार्यालयले लेटाङ क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको थियो ।
घटना साम्य भएसँगै शिक्षा विकास माविमा पठन पाठनसमेत सुरु भएको छ । विद्यालयका प्रधानाध्यपक लक्ष्मीप्रसाद मिश्रले विद्यार्थी न्यून संख्यामा मात्र विद्यालय आएको जानकारी दिए । विद्यालयमा कूल ७४१ जना विद्यार्थी अध्ययनरत छन् ।
मिश्रले भने, ‘घटनाको मनोवैज्ञानिक त्रासका कारण धेरै विद्यार्थी विद्यालय आउन डराइरहेका छन् ।’ उनले विद्यालयको अवस्था विस्तारै सामान्य बन्दै जाने अपेक्षा रहेको बताए ।
लेटाङ नगरपालिकाका मेयर शंकर राईले अवस्था सामान्य भएसँगै विद्यालय पूवर्वत रुपमा खोलिएको जानकारी दिएका छन् । उनका अनुसार कक्षा सुरु गरिएको छ । विद्यालय खुलेपछि त्रासदीपूर्ण घटनालाई बिर्सिएर विद्यार्थी विद्यालय आउन सुरु गरेका छन् ।
वार्षिक परीक्षा नजिकिएको र विद्यालय बन्द हुँदा पठनपाठनसमेत प्रभावित बनेको थियो । शिक्षक मनोज पौडेलले कक्षा ७ मा अध्ययनरत छात्रालाई होलीका दिन यौनजन्य दुरव्यवहार गरेको आरोपछि विद्यार्थी र स्थानीयले प्रदर्शन गरेका थिए । मेयर राईले विद्यार्थीमा त्रासको अवस्था रहन नदिन प्रयास गरिएको बताउँदै भने, ‘हामीले विद्यार्थी र शिक्षकका लागि मनोपरामर्श कक्षा संचालन गर्ने तयारी गरेका छौं ।’ घटनापछि स्थानीय रुपमा गठित पाँच सदस्यीय समितिले विद्यालयमा तोडफोडबाट भएको क्षतिको विवरण संकलन गरेको छ ।
त्रासका कारण मनोवैज्ञानिक असर देखिएकी कक्षा १० की एक छात्रालाई अस्पताल भर्ना गरेर उपचार गरिएको मेयर राईले जानकारी दिए । घटनामा घाइते विद्यार्थीको स्वास्थ्य अवस्थासमेत सुधार भइसकेको बताइएको छ । हिंसा भड्किएपछि प्रहरीले पाँच राउन्ड हवाई फायर गरेको थियो । एक दर्जनभन्दा बढी अश्रुग्यास प्रहार भएको थियो । झडपमा २९ प्रहरी र केही शिक्षक घाइते भएका थिए ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।