लोड हुँदैछ...

मेनु

मंगलबारबाट पेट्रोल सहज हुने

मंगलबारबाट पेट्रोल सहज हुने

विराटनगर । नेपाल आयल निगमको प्रादेशिक कार्यालय विराटनगरले आइतबार १३ लाख ५० हजार लिटर डिजेल बजारमा पठाएको छ । व्यवसायीले खरिद नगरेपछि शुक्रबार इन्धन बिक्री नगरेको निगमले आइतबार ठूलो परिमाणमा डिजेल बजारमा पठाएको हो ।

नेपाल आयल निगम र आन्दोलनरत पेट्रोलियम व्यवसायीबीच सहमति बनेपछि आइतबार बिहानैबाट इन्धन लोड भएको थियो । आइतबार मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर, उदयपुर र प्रदेश २ का सिरहा र सप्तरीमा १३ लाख ५० हजार लिटर डिजेल पठाएको निगमका प्रादेशिक कार्यालय प्रमुख अशोककुमार साहले जानकारी दिए ।

चैत १८ गतेदेखि निगमबाट इन्धन खरिद बन्द गरी आन्दोलनमा उत्रिएपछि बजारमा डिजेलको अभाव हुने संकेत देखिएको थियो । आइतबार सबैतिर इन्धन गएका कारण डिजेल अभाव नहुने प्रमुख साहले बताए ।

बजारमा पर्याप्त मात्रामा डिजेल बिक्री गरेपनि निगमले माग अनुसार पेट्रोल उपलब्ध गराउन नसकेको व्यवसायीहरुले बताएका छन् । भारतको सिलिगुढीबाट थोरै पेट्रोल गाडीमात्र लोड भएर आएका कारण आइतबार निगमको विराटनगर स्थित डिपोले व्यवसायीहरुलाई आइतबार २ लाख ४० हजार लिटर मात्र बिक्री गरेको थियो ।

बजारमा डिजल पर्याप्त मात्रामा गएको तर पेट्रोल भने आइतबार माग अनुसार उपलब्ध गराउन नसकेको निगमका प्रमुख साहले जानकारी दिए । ‘ढुवानी व्यवसायीहरुले दुई दिन अघिदेखि नै पिडिओ नलिइदिएका कारण सिलिगुडीमा हाम्रा गाडीहरु लोड हुन पाएनन्, दुई दिन नरोकिएको भए हामीसँग ४० गाडी पेट्रोल हुने थियो,’ प्रमुख साहले भने ‘आइतबार २ लाख ४० हजार लिटर पेट्रोल बजारमा गएको छ, र भोलीदेखि बजार सहज हुन्छ ।’

आइतबार भारतमा बिदा भएको कारण भारतीय आयल कर्पोरेशनले पेट्रोल लोड दिएको छैन । निगमको विराटनगर स्थित डिपोबाट सहज अवस्थामा दैनिक ४ लाख ५० हजार लिटर पेट्रोल बिक्री हुँदै आएको थियो । पछिल्लो केही दिनयता बजारमा पेट्रोलको अभाव देखिएका कारण व्यवसायीहरुले आइतबार करिव ८ लाख लिटर माग गरेका थिए । तर, निगमले २ लाख ४० हजार लिटर पेट्रोल बिक्री गरेको थियो ।

प्रमुख साहका अनुसार निगमले आइतबार सुनसरीमा ३, सिरहा, सप्तरी र उदयपुरमा १÷१, भोजपुर र संखुवासभाका लागि १ गाडी पेट्रोल उपलब्ध गराएको छ । मोरङ जिल्लामा आइतबार १ लाख २० हजार लिटर पेट्रोल वितरण गरेको प्रमुख साहले जानकारी दिए । उनले मंगलबारबाट भने पेट्रोल अभाव नहुने र बजार सहज हुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 5 seconds