डाक्टर मृत्यु प्रकरणमा आठ पक्राउ

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत मेडिकल अफिसर डा. विजय यादवको रहस्यमय मृत्यु भएको घटनामा प्रहरीले सोधपुछको लागि ८ जनालाई नियन्त्रणमा लिएको छ ।

घटना अगाडि एकसाथ मदिरा सेवन गर्ने दुई जनासहित ८ जनालाई साधेपुछको लागि प्रहरीले नियन्त्रणमा लिएको हो ।

सप्तरीको विष्णुपुर गाउँपालिका– १ का बासिन्दा डा.यादव विराटनगर ४ नोबेल अगाडि डेरा बसेको घरको कम्पाउण्डमा शनिबार बिहान मृत फेला परेका थिए । शुक्रबार राति अबरेसम्म सँगै मदिरा खाने दुई जना डा. यादवका साथीहरूसहित ८ जनालाई मोरङ प्रहरीले नियन्त्रणमा लिएर म्याद थप गरेको छ ।

प्रहरीले यादवसँग ७ महिना अगाडि झगडा गर्ने फार्मेसी सञ्चालकसहित शुक्रबार राति झगडा गर्ने युवाहरूलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । प्रहरीले मोरङको रतुवामाई नगरपालिका घर भई विराटनगरमा बस्दै आएका जीवन कठेत, सुदीप पौडेलसहित ८ जनालाई जिल्ला प्रशासन कार्यालय मोरङमा आइतबार ‘अभद्र व्यवहारको मुद्दामा’ तीन दिन म्याद थप गरि अनुसन्धान सुरू गरेको छ ।
हाडजोर्नी सम्बन्धी उपकरण सप्लाई गर्ने कठेत र उनका साथी पौडेलसहित डा.यादवले एयरपोर्ट लाइनको तृष्णा होटलमा राति ११ बजेसम्म बसेको पाइएको अनुसन्धानमा खटिएका प्रहरीले बताए । मृतकको पोस्मार्टम रिपोर्ट नआएसम्म हत्या हो वा दुर्घटना भएको यकिन नभएकोले अनुसन्धानको लागि प्रहरीले उनीहरूलाई नियन्त्रणमा राखेको छ ।

सोधपुछबाट मात्रै वास्तविकता पत्ता लाग्न नसकेकाले पोस्टमार्टम रिपोर्टको पर्खाइमा प्रहरी रहेको मोरङ प्रहरीका डीएसपी दिपक श्रेष्ठ बताए । घटना शंकास्पद र गम्भीर रहेको भनिएपनि प्रहरीले शव भेटिएको २४ घण्टाभन्दा धेरै बितिसक्दासम्म मृत्युको कारण यकिन गर्न सकिरहेको छैन । मृतकको पोस्टमार्टम धारनस्थित विपी कोइराला विज्ञान प्रतिष्ठानमा आइतबार गरिएको छ ।

होटलमा बसेर खानपिन गरेको र आफूहरू तीनै जना एउटै स्कुटर चढेर ११ बजे राति विजयलाई उनको डेरा नजिक पु¥याएर फर्केको प्रहरी नियन्त्रणमा रहेकाहरुले बताएका छन् । डा.यादव नोबेल अस्पताल अगाडि नहरपूर्वको प्रेम बस्नेतको घरमा डेरामा बस्दै आएका थिए । स्थानीयले बिहान यादवको मृत शरीर घरको गेटमै देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

होटलमा बस्दा विजयको मोबाइलले तीन जनाको भिडियो खिचेको थियो । त्यो भिडियो माग्न राति १२ बजेपछि विजयलाई फोन गर्दा उनको फोन नउठेको कठेतको भनाइ छ । ‘विजय शुक्रबार राति कोठामा पुगेको देखिँदैन,’ उनका दाजु हिरा यादवले भने, ‘उनको कोठा खोलिएको छैन, गोजीमा मोबाइल जस्ताको तस्तै छ ।’ उनले वास्तविकता बाहिर ल्याउन प्रहरीसमक्ष माग गरेका छन ।

स्थानीयका अनुसार शुक्रार राति ११ बजेपछि विजयको डेरादेखि ५० मिटर उत्तर र ५० मिटर पूर्वतर्फ केही युवाहरूको ग्याङफाइट भएको थियो । केही बेरसम्म झगडा भएको र त्यसपछि भागाभाग भएको थियो ।

मृत फेला परेका यादवको एउटा खुट्टामा जुत्ता रहेको र अर्को खाली थियो । घटनास्थलको प्रत्यक्षदर्शी तथा यादवको मामा उपेन्द्रका अनुसार घरको गेट अगाडि महिलाका जुत्ता चप्पल, डेरा जाने सडक, नहरको डिल र त्यहाँको मिथिला फार्मेसी अगाडि रगतका टाटा थियो । फार्मेसीका सञ्चालक राजेश यादवलाई पनि प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको छ । यादवसँग ६ महिना पहिले मृतकको झगडा भएको बुझिएको छ ।

सोमबार, २१ चैत, २०७८, बिहानको ०८:३५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर