विराटनगर । विराटनगरमा ९ दिनसम्म संचालन हुने गरी आजदेखि विराट टे«ड एक्स्पो सुरु भएको छ । एक्स्पोको आज औपचारिक रुपमा संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले उद्घाटन गरे ।
एक्स्पोमा ३ लाखबढी मानिसले अवलोकन गर्ने र ४५ करोडभन्दा धेरै कारोबार हुने अपेक्षा आयोजकको छ । एक्स्पोमा ८० वटा एसीसहितका, ६० वटा कुलरसहितका, १०६ वटा सामान्य, अटोस्टल २५ वटा तथा खाद्यान्नका १० वटा स्टल छन् ।
एक्स्पोमा जिप लाइन, रिभर्स बन्जी र जिप साइक्लिङलगायतका खेलकुदस्थल बनाइएको छ । एक्स्पोमा लण्डन ब्रिज, बुर्ज खलिफा, बुर्ज अल अरब, सेन्ट वेसिल जस्ता संरचनाको नमूना राखेर सेल्फी जोन बनाइएको छ । एक्स्पोमा नेपालका साथै भारत, बंगलादेश र पाकिस्तानका उत्पादनसमेत राखिएको छ ।
आयोजकले एसी स्टल राख्नेलाई ६० हजार, कुलर स्टललाई ४० हजार, साधारण स्टललाई ३० हजार, अटो स्टललाई ७० हजार र खाद्यान्न स्टललाई ६० हजार रुपैयाँ शुल्क निर्धारण गरेको छ । मेलालाई रमपम चाउचाउले मुख्य प्रायोजन गरेको छ भने सेन्चुरी मसलाले सहायक दोस्रो तथा तेस्रो प्रायोजकको रुपमा रिजालको तथा बाबा गुड हेल्थले गरेको छ ।
३ वर्षअघि भएको मेलामा १८ देखि २० करोड बराबरको कारोबार भएको र २ देखि अढाइलाख मानिसले अवलोकन गरेको अनुमान थियो । यसपटक मेलामा प्रवेशका लागि सर्वसाधरणका लागि १ सय रुपैयाँको टिकट राखिएको आयोजकको भनाइ छ ।
व्यापार संघले यसअघि कोशी महोत्सव २०५३, पूर्वाञ्चल औद्योगिक व्यापार मेला २०५७, विराट महोत्सव २०६२, विराट महोत्सव २०७०, विराट टे«ड एक्स्पो २०७५ लगायत मेला लगाएको थियो । मेलाले प्रदेश १ को पर्यटन क्षेत्रको विकासका लागि पनि महत्वपूर्ण भूमिका खेल्ने मोरङ व्यापार संघका पूर्व अध्यक्ष प्रकाश मुन्दडाले बताए । उनले सरकारले प्रदर्शनीस्थल बनाइदिएका कारण आफूहरुले अस्थायी संरचना बनाएर मेला लाउनु परेको र धेरै खर्च हुने गरेको गुनासो पनि गरे ।