चौधरी ग्रुपको पशुपति बिस्कुट बन्द

विराटनगर । नेपालका डलर अर्बपति विनोद चौधरी नेतृत्वको चौधरी ग्रुपले सञ्चालन गर्दै आएको सुनसरीको दुहबीस्थित पशुपति बिस्कुट इन्डस्ट्रिज प्रालि बन्द भएको छ । उद्योग प्रशासनले १५ दिनका लागि उत्पादन बन्द रहने सूचना जारी गरेको भएपनि उद्योग नै क्रमशः बन्द गर्ने प्रक्रियामा सञ्चालन रहेको स्रोतले जनाएको छ ।

उद्योग पुनः सञ्चालनमा नआउन पनि सक्ने स्रोतको दावी छ । चौधरी ग्रुपका संस्थापक लुनकरण दास चौधरीले २०३० मा स्थापना गरेको उद्योग वसन्त चौधरीले हेर्दै आएका थिए ।

उद्योग प्रशासनका तर्फबाट भरतकुमार सिलवालले उद्योगमा तयारी मालसामानको मौज्दात बढ्दै गएको र बजारबाट माग पनि न्यून हुँदै गएको उल्लेख छ । सूचनामा कच्चा पदार्थ, प्याकिङ मालसामान र इन्धनसमेतको मूल्यमा अप्रत्याशित वृद्धि भएकोले उद्योग बन्द गरिएको जनाइएको छ ।

उद्योगमा रहेका तयारी मालसामानको परिमाणमा पनि वृद्धि गर्न नसक्ने अवस्था सृजना भएकाले बाध्यतावश केही समयका लागि उत्पादन बन्द गरिएको सिलवालको भनाइ छ । सिलवालले श्रम ऐन २०७४ को दफा १५ बमोजिम चैत १६ देखि लागु हुनेगरी १५ दिनका लागि उद्योगको उत्पादन सञ्चालनमा नरहने सूचित गरेका छन् ।

श्रम तथा रोजगार कार्यालयको स्वीकृति लिएर नियमअनुसार उत्पादन स्थगित गरिएको उद्योगले जनाएको छ । लकडाउनको अवधि र सोभन्दा पहिले उद्योग २४ घण्टा नै सञ्चालन भइरहेकोमा लकडाउन खुलेपछि भारतबाट चोरीपैठारी भई आएका बिस्कुटसित प्रतिस्पर्धा गर्न गाह्रो भएको उद्योगको दावी छ ।

लामो समयदेखि कतैबाट अर्डर नआएकोले उत्पादित वस्तुले उद्योगका सबै गोदाम भरिएकोले उत्पादन बन्द गर्नुपरेको सिलवालले बताए । उद्योगले बजारमा पठाएको उत्पादनको पनि भुक्तानी पाउन बाँकी रहेको जनाएको छ ।

उत्पादन बन्द गरिएको १५ दिनका अवधिमा सारा शक्ति लगाएर उधारो उठाउने र गोदाममा थन्किएको माल बिक्री गर्ने योजना रहेको उद्योग प्रशासनको भनाइ छ । तर, गोदामको सामान तत्काल बिक्री हुने अवस्था नरहेकोले उद्योग १५ दिनपछि पनि संचालनमा आउने संभावना कम रहेको उद्योग स्रोतले जनाएको छ ।

चैत्र १८, २०७८, बिहानको ११:०८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर