कानेपोखरी । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले गठबन्धनको भावना अनुसार आफू अगाडि बढ्ने बताएका छन् । कतिपय कांग्रेसका सांसदहरुले सरकारको काम कारबाही एकलौटी जस्तो देखिएको भन्दै आलोचना गरिरहेका बेला मुख्यमन्त्री राईले भने गठबन्धनको निर्णय र भावना अनुसार नै आफूले सरकार संचालन गर्ने बताएका हुन् ।
मोरङको कानेपोखरीमा आयोजित नेकपा (एकीकृत समाजवादी)को पार्टी संगठन निर्माण तथा सुदृढीकरण अभियानलाई सम्बोधन गर्दै राईले यस्तो बताएका हुन् । उनले आउने चैत्र–१४ गते काठमाडौं गएर संघीय सरकारका प्रधानमन्त्री, अर्थमन्त्री लगायतका विभिन्न मन्त्रालयमा पुगेर थप बजेट माग गर्ने बताए ।
प्रदेश १ को नामाकरणका सम्बन्धमा ‘किरात’ नाम आफ्नो निजी प्रस्ताव रहेको उल्लेख गर्दै उनले पार्टीको प्रदेश कमिटी र माथिल्लो तहहरूले गर्ने निर्णयहरु आफूले मान्ने पनि बताए । कार्यक्रमका अवसरमा मुख्यमन्त्री राईले कानेपोखरी गाउँपालिकाको पार्टी कार्यालय उद्घाटन गरेका थिए । सोही क्रममा नेकपा एसका पोलिटब्यूरो सदस्य समेत रहेका पार्टीका प्रदेश १ सचिव महेश रेग्मीले मोरङ जिल्लाका विभिन्न ईलाका र क्षेत्रमा सांगठनिक सुदृढीकरण अभियान संचालन गर्न नेता तथा कार्यकर्ताहरुलाई जिम्मेवारी तोकिएको बताए ।
नेता रेग्मीले नेपालको कम्युनिष्ट आन्दोलनले गम्भीर अवस्थामा रहेको बताउँदै आगामी चुनावमा नेकपा एकीकृत समाजवादीसहितको गठबन्धनको तर्फबाट संयुक्त मोर्चाले चुनाव लड्नुपर्ने र सोका लागि कार्यकर्ता पंङ्ति सशक्त रुपमा अगाडि बढ्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा यातायात तथा संचार मन्त्री उपेन्द्र घिमिरेले प्रदेश १ को यातायात मन्त्रालयले २ महिनाभित्रमा साना ठूला सबैखाले सवारीसाधन सञ्चालनका लागि चाँडै नै स्मार्ट लाइसेन्स वितरण गर्ने जनाए । कार्यक्रममा सो पार्टीका केन्द्रीय सदस्य हर्कमान तामाङ, सावित्रा रेग्मी, विद्या चाम्लिङ, कृष्णा कुमारी राई, मोरङ्ग जिल्ला कमिटी उपाध्यक्ष चण्डीप्रसाद राई, पथरीशनिश्चरे नगर अध्यक्ष तुलसी ढकाललगायतका विभिन्न पालिकाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।