विराटनगर । चालु आर्थिक वर्षभित्र सम्झौता गरेर आउँदो आर्थिक वर्षदेखि कार्यान्वयनमा लैजाने गरी स्वीस सरकारले प्रदेश १ मा उद्यमशीलता परियोजना सञ्चालनमा सहयोग गर्ने भएको छ ।
मझौला उद्यमीहरुको समग्र अवस्थाको विकास गर्न ‘उदय’ नामक कार्यक्रममा यो परियोजना केन्द्रीत हुनेछ । बिहीबार मुख्यमन्त्री राजेन्द्र राई र आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोसँगको अलग–अलग भेटमा अहिलेसम्मका सहकार्यबारे र आगामी योजनाबारे छलफल भएको थियो ।
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईसँग बिहीबार नेपालका लागि स्वीजरल्याण्डकी राजदूत एलिजावेथ भोन क्याप्लरले भेट गरेकी छन् । भेटका अवसरमा द्विपक्षीय हितका बारे छलफल भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार बन्धु पोखरेलले जानकारी दिए ।
भेटघाटमा राजदूत भोन क्याप्लरले स्वीस सहायतामा सञ्चालनमा भएका परियोजनाका बारे थप छलफल र समीक्षा गर्न चाहेको बताएकी थिइन् । यही बीचमा प्रदेश नं. १ सरकारले स्वीस परियोजनाअन्तर्गत रहेको पदमार्गमा आधारित पर्यटन विकास परियोजना स्वीकृत गरेकोमा राजदूत क्याप्लरले खुशी व्यक्त गरेको पोखरेलले जानकारी दिए ।
राजदुत क्याप्लरले प्रदेश नं. १ मा लगभग २ अर्ब बराबरको सहयोग कार्यक्रम सञ्चालन भएको बताउँदै गर्दै ती कार्यक्रमबारे प्रदेश सरकारको पृष्ठपोषणको अपेक्षा रहेको बताएकी थिइन् ।
यसैगरी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोलाई पनि स्वीस राजदूत क्याप्लरले उनकै कार्यकक्षमा भेटेकी छन् ।
त्यसक्रममा हाल स्वीस सरकारको सहयोगमा प्रदेशमा सञ्चालनमा रहेका आयोजनाहरुको प्रगतिबारे छलफल भएको मन्त्री आङ्बोले जानकारी दिए । स्वीस सहयोगमा अहिले प्रदेशमा साना सिञ्चाई आयोजना आठ जिल्लामा सञ्चालित छ । त्यस्तै कृषिलाई बजारसँग जोड्ने परियोजना र कृषि आधुनिकीकरण योजना पनि स्वीस सहयोगमै सञ्चालित छ । यसबाहेक प्रदेशको पूर्वाधार विकासमा प्राविधिक सहयोग पनि स्वीस पक्षले गरिरहेको छ । स्वीस राजदूत क्याप्लरले मनमोहन प्राविधिक विश्वविद्यालयको सबलीकरणमा सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेको मन्त्री आङ्बोले जानकारी दिए ।