विराटनगर । नेपाल डेन्टल एसोसिएसन मोरङको आयोजनामा प्रदेश १ प्रहरी कार्यालय रानीका प्रहरी सुरक्षाकर्मीको निःशुल्क दाँत परीक्षण शिविर गरिएको छ ।
उक्त शिविरमा १ सय ७५ जना प्रहरीले निःशुल्क दाँत परीक्षण गरेको डेन्टल एसोसिएसन मोरङकी महासचिव मिरा आचार्यले जानकारी दिइन् । २० मार्च अर्थात् ‘विश्व मुख स्वास्थ्य दिवस’को अवसरमा दन्त परीक्षण गरिएको उनले बताइन् ।
परीक्षणको क्रममा सूर्तिजन्य पदार्थको सेवनले केही सुरक्षाकर्मीको मुखमा समस्या देखिएको उनले बताइन् । सो क्रममा निःशुल्क औषधि, टुथपेष्ट, टुथ ब्रस, मुखको घाउमा लगाउने औषधि पनि वितरण गरिएको छ । कार्यक्रमको मुख्य सन्देश भनेको नेपाल मेडिकल काउन्सिलबाट लाइसेन्स लिएका डाक्टरसँग मात्रै दाँतको उपचार गराउनु भएको आचार्यले बताइन् । ‘सबै सेतोकोट धारी डाक्टर हुँदैनन्,’ आचार्यले भनिन्, ‘त्यसकारण काउन्सिल पास गरेर लाइसेन्स लिएका डाक्टरसँग नै दाँतको उपचार गर्नुपर्छ भन्ने हाम्रो सन्देश हो ।’




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।