लोड हुँदैछ...

मेनु

लोहन्द्रा खोला ठेक्काको उजुरी अख्तियारमा : माओवादीले जनताका बीचमा भण्डाफोर अभियान चलाउने

लोहन्द्रा खोला ठेक्काको उजुरी अख्तियारमा : माओवादीले जनताका बीचमा भण्डाफोर अभियान चलाउने

विराटनगर । मोरङको कटहरी गाउँपालिकाले गरेको राजश्व हिनामिना र अनियमितताका विरुद्ध नेकपा माओवादी केन्द्रले कानुनी उपचार खोज्ने भएको छ ।

कटहरीमा पर्ने लोहन्द्रा खोलाबाट नदीजन्य वस्तु उत्खनन् र निकासीको ठेक्का लगाउँदा ठेकेदारसँग मिलेमतो गरेको र एक पटक ठेक्का सम्झौता भइसकेपछि ठेकेदारले ठेक्का छोड्दा धरौटी जफत गर्नुपर्नेमा नगरेका कारण २५ लाख रुपैयाँ भन्दा बढी राजश्व गुमाएको विषयमा गाउँपालिका छानविन गर्न तयार नभएपछि माओवादीले अख्तियार गुहारेको हो ।

विराटनगरस्थित नेपाल पत्रकार महासंघमा मंगलबार पत्रकार सम्मेलन गर्दै कटहरी २ का वडाध्यक्ष किशोरकुमार पाण्डेले ठेकेदारसँग मिलेमतो गरेर दोस्रो पटक खोला ठेक्का लगाउँदा गाउँपालिकालाई १ करोड रुपैयाँ नोक्सानी भएको दाबी गरे । भदौ महिनामा १ करोड ७३ लाख रुपैयाँमा लागेको खोला ठेक्का क्यान्सिल गरेर फागुन १ गते जम्मा ७४ लाखमा फेरि ठेक्का लगाइएको उनले बताए ।

गाउँपालिकाले फागुन अन्तिमसाता विशेष गाउँसभा आयोजना गरेर बजेट संशोधनमार्फत ठूलो रकम दुरुपयोग गर्ने योजना बनाएको आरोप पनि नेकपा माओवादी केन्द्र कटहरीले लगाएको छ । विशेष गाउँसभाले बजेट संशोधन गरी विभिन्न शीर्षकमा ६३ लाख रुपैयाँ विनियोजन गरेको थियो । ६३ लाख रुपैयाँमध्ये २३ लाख रुपैयाँ मर्मत सम्भार शीर्षकमा एकमुष्ठ(अबण्डा) राखेर अध्यक्षले मनोमानी खर्च गर्न सक्ने गरी अधिकार दिइएकोमा पनि पत्रकार सम्मेलनमा विरोध गरिएको थियो ।

कार्यकाल ६० दिनमात्र बाँकी रहेको बेला २३ लाख रुपैयाँ अबण्डा राख्नुको नियत भ्रष्टाचार गर्ने मात्र भएको पाण्डेको दावी छ । परिमार्जित बजेटमा इन्धन खर्चका लागि थप १२ लाख रुपैयाँ विनियोजन गर्नुको नियत पनि गलत रहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

‘गाउँपालिकाले चालु आर्थिक वर्षको बजेटमा विनियोजन गरेको १२ लाख रुपैयाँ ८ महिनामा खर्च भइसकेको छैन, आर्थिक वर्ष सकिन अब चार महिना मात्र बाँकी छ,’ वडाध्यक्ष पाण्डेले भने ‘अब ४ महिनामा १२ लाख रुपैयाँ थप बजेट इन्धनका लागि किन विनियोजन गर्नुप¥यो बुझ्नुहोला ।’

यसैगरी विपन्न स्वास्थ्य उपचारको शीर्षकबाट चालु वर्षको ८ महिनामा १० लाख रुपैयाँ खर्च गरेको र गाउँपालिकाका २०० जनाले उक्त रकम खर्च गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । विशेष गाउँसभाबाट उक्त शीर्षकमा फेरि ८ लाख रुपैयाँ थप गरेर बाँड्ने योजना बनाएको भन्दै वडाध्यक्ष पाण्डेले भने ‘यसअघि वितरण गरेको स्वास्थ्य उपचार खर्च वास्तविक विपन्नले नपाएको बरु गाउँपालिका अध्यक्षका कार्यकर्ताहरुलाई वितरण गरेर दुरुपयोग गरियो, फेरिपनि रकम थपेर दुरुपयोग गर्नु उचित हुँदैन भनेर विरोध गरेका हौं ।’

गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले भागबण्डा गरेर १२ जना आफन्त र नातागोताका व्यक्तिहरुलाई जागिर दिएको आरोप पनि पत्रकार सम्मेलनमा लगाइएको छ । गाउँपालिकाले कर्मचारी आवश्यकता सम्बन्धी विज्ञापन प्रकाशन गरेपनि एक दर्जन बढी आफन्तलाई चलखेल गरेर उत्तीर्ण गराएको बताइएको छ ।

कटहरी गाउँपालिकामा भएको अनियमितता, भ्रष्टाचार र दुरुपयोग सम्बन्धी विषयमा छानविन समिति गठन गरेर छानविन गर्न पटक–पटक आवाज उठाउँदा पनि सुनुवाई नभएपछि विरोधमा उत्रिनु परेको अध्यक्ष पाण्डेले बताए । अब कानुनी र जनताबीच भण्डाफोर गर्ने दुवै काम एकसाथ अगाडि बढाउने तयारी गरेको माओवादी केन्द्रले जनाएको छ ।

‘अब हामी हरेक वडा र टोलटोलमा पुगेर गाउँपालिकाले गरेको भ्रष्टाचार र अनियमितताको विषय जनतालाई प्रष्टरुपमा भन्नेछौं,’ अध्यक्ष पाण्डेले भने ‘जनताका बीचमा उनीहरुले गरेको गलत कामहरुको भण्डाफोर गर्नेछौं ।’ यसअघि आइतबार कटहरी गाउँपालिकाका अध्यक्ष रामकुमार कामतले पत्रकार सम्मेलन गरेर खोला ठेक्कामा अनियमितता नभएको दाबी गर्दै अनावश्यक आरोप लगाएको बताएका थिए ।

अनियमितता छानविनको माग गर्नेहरुलाई अदालतमा गएर कानुनी उपचार खोज्न चेतावनी दिएका थिए । अध्यक्ष कामतको चेतावनी आफूहरुलाई स्वीकार्य भएको भन्दै अख्तियारमा उजुरी दिएको र अब जनताबीचमा भण्डाफोर अभियान चलाउने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।