गुमेको दृष्टि फर्किदाको खुसी…

विराटनगर । भोजपुर घर भएका ८० वर्षीय वृद्ध भगवाननाथ सुवेदी चार वर्षदेखि विराटनगरस्थित विराटेश्वर वृद्धाश्रममा छन् । सुवेदी शारीरिक रूपमा अशक्त उनी राम्रोसँग हिँडडुल गर्न सक्दिनन् । तर, उमेर ढल्कँदै जाँदा श्रवणशक्ति पनि कमजोर भइसकेको थियो ।

आँखाको दृष्टि क्षमता निकै कमजोर हुँदा वृद्धावस्थामा सुवेदीको दिन निकै कष्टपूर्ण बन्दै गएको थियो । असाध्यै अप्ठ्यारोमा परेपनि उनको सुविधासम्पन्न अस्पतालसम्म पुग्ने र उपचार गराउन सक्ने अवस्था थिएन । निःशुल्क रुपमा आँखाको सफल शल्यक्रिया भएपछि सोमबार डिस्र्चाज भएर आश्रम जाने तयारीमा रहेका सुवेदी गुमेको दृष्टि फर्किएर आएपछि खुसी देखिएका छन् ।

शल्यक्रियासहितको उपचारपछि मधुरो देख्ने आँखाहरु जवान हुँदाका जस्तै तेज भएपछि अहिले भगवानाथसहित १४ जना ज्येष्ठ नागरिकहरु खुसी छन् । शल्यक्रियापछि अस्पतालबाट डिस्चार्ज भएर घर जाने तयारीमा रहेकी ७७ वर्षीय सीता पराजुलीले पनि आँखामा ज्योति फिर्दा नयाँ जीवन पाएजस्तो अनुभूति भएको बताइन् ।

वरपरका दृश्य हेर्दै आफ्ना अनुभव सुनाउँदै पराजुलीले भनिन्, ‘आश्रममा रहेका आफूसँगै रहेका साथीहरु चिन्न पनि गाह्रो थियो । अहिले निःशुल्क आँखाको शल्यक्रिया भएपछि राम्रोसँग देख्ने भएको छु ।’ गुमेको दृष्टि फर्किँदा शरीरमा ऊर्जा थपिएको र हल्का महसुस भएको उनको अनुभव छ ।

ज्येष्ठ नागरिकहरु बसोवास गर्ने वृद्धाश्रममा सञ्चालित आँखा शिविरमा सेवा लिएर खुशी हुने सुवेदी र पराजुली प्रतिनिधि पात्रहरु मात्रै हुन् । विराटनगर–८ अशोकचौकमा रहेको विराटेश्वर आश्रममा विराटनगर १४ मलायरोडमा रहेको दिब्यज्योती अस्पतालले शनिबार निःशुल्क आँखा शिविर राखेको थियो । शिविरमा जाँच गरिएकामध्ये शल्यक्रिया गर्नुपर्नेको निःशुल्क शल्यक्रिया भएको हो ।

शिविरमा ६५ जना ज्येष्ठ नागरिकहरुको आँखा जाँच गरेको अस्पतालले १४ जना ज्येष्ठ नागरिकहरुको आँखामा जलबिन्दु र मोतियाबिन्दु देखा परेपछि शल्यक्रिया गरेको छ । अस्पतालका जलबिन्दु रोग विशेषज्ञ डा.प्रमोद शर्मा गौतमसहित आँखा रोग विशेषज्ञ डा.हरिस यादव र डा.उदयचन्द्र प्रकाशको टिमले १४ जना ज्येष्ठ नागरिकहरुको आँखाको सफल शल्यक्रिया गरेका थिए ।

शल्यक्रियापछि ७८ वर्षीय सन्तोष भट्टराईले अब राम्रोसँग देख्नसक्ने भएको बताए । ‘शल्यक्रिया गरिनुभन्दा अगाडि आश्रममा बस्दा आँखाले धमिलो देख्ने गरेको थियो’ उनले भने, ‘अहिले शल्यक्रिया गरेपछि वरपरको दृष्य राम्रोसँग देख्नसक्ने भएको छु ।’

आश्रममा रहेका ६० देखि १०२ वर्षका १४ जना ज्येष्ठ नागरिकहरुको आँखाको शल्यक्रिया गरिएको अस्पतालका निर्देशक देवा यादवले बताए । शल्यक्रिया गरिएका १४ जना ज्येष्ठ नागरिक र विराटेश्वर वृद्धाश्रमका अध्यक्ष जगतप्रसाद अर्यायाललाई अस्पतालले सम्मान गरेको पनि गरेको थियो ।

ज्येष्ठ नागरिकहरुलाई चश्मा, औषधि र खान र बस्ने पनि निःशुल्क गरेको अस्पतालले जनाएको छ । शल्यक्रिया गरिएको ज्येष्ठ नागरिकहरुको आँखामा औषधी हाल्न अस्पतालबाट एक जना स्वास्थ्यकर्मी पनि परिचालन गरिने निर्देशक यादवले बताए ।

मङ्गलबार, ०१ चैत, २०७८, दिउँसोको ०३:१८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर