विराटनगर । बैंकहरुको संस्थागत निक्षेपमा अधिकतम ६ प्रतिशत ब्याजदर कायम गर्न माग गर्दै उद्योगी व्यवसायीहरुले आज नेपाल राष्ट्र बैंकको विराटनगरस्थित कार्यालयमा प्रदर्शन गरेका छन् ।
स्वदेशी उद्योग प्रवद्र्धन गर्नुपर्ने, लगानीको वातावरण तयार गर्नुपर्ने, बैंक ब्याजदर घटाउनु पर्ने, संस्थागत निक्षेपमा ६ प्रतिशत ब्याजदरमा लगानी गर्नुपर्ने लगायतका माग राख्दै मोरङ ब्यापार संघमा आवद्ध उद्योगी व्यवसायीहरुले प्रदर्शन गरेका हुन् । बैंकहरुले संस्थागत निक्षेपमा १० प्रतिशतसम्म ब्याज दिन थालेपछि कर्जाको ब्याजदर अधिकतम वृद्धि हुने भन्दै व्यवसायीहरुले त्यसको विरोध गरेका हुन् ।

नागरिक लगानी कोष, संचयकोष, नेपाल टेलिकम, सामाजिक सुरक्षा कोषलगायतले बैंकमा जम्मा गरेको संस्थागत निक्षेपलाई राज्यको सम्पति मानेर बढीमा ६ प्रतिशत ब्याजदरमा कर्जा लगानी गर्नुपर्ने माग अगाडि सार्दै मोरङ व्यापार संघले चरणवद्ध आन्दोलननै थालेको छ ।
सोमबार पत्रकार सम्मेलन गरी हातमा कालोपट्टि बाँधेर आन्दोलनमा उत्रिएका व्यवसायीहरुले जिल्ला प्रशासन कार्यालय मार्फत ज्ञापन पत्र बुझाउँदै नेपाल राष्ट्र बैंक र सरकारको ध्यानाकर्षण गराएका थिए । मंगलबार उद्योगी व्यवसायीहरुले नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयमा प्रदर्शनसहित ज्ञापनपत्र बुझाउन पुगेका थिए ।
ज्ञापनपत्र बुझाउँदै संघका अध्यक्ष नविन रिजालले बजारमा भइरहेको तरलता अभाव अन्त्य गर्न संस्थागत निक्षेपको ब्याजदर घटाइ तत्काल कर्जा प्रवाह बढाउन आग्रह गरे । पुँजी अभावमा उद्योग व्यवसायको क्षेत्र धराशायी भएको र पुँजी अभावले उद्योगहरुमा कच्चा पदार्थको मौज्दात घटेको तर्फ सरकारले ध्यान दिनुपर्ने बताए ।
पछिल्लो समय विप्रेषण आयमा ह्रास आएको, स्वदेशी उत्पादकत्व घटेको, उद्योगहरु जीर्ण हुँदै गएको तथा आयातका लागि प्रतितपत्र खोल्न राष्ट्र बैंकले कडाई गर्दा प्रयाप्त मात्रामा कच्चा पदार्थ ल्याउन समेत नसक्ने अवस्था आएपछि उद्योग व्यवसाय धरासायी बनेकोप्रति उनीहरुले चिन्ता व्यक्त गरेका छन् ।
सरकारको नीतिहरुकै कारण उद्योग व्यापार क्षेत्र प्रभावित बनेको, रोजगारीको समस्या बढेको र समग्र अर्थतन्त्र नै धरापमा पर्ने जोखिम उत्पन्न भएकोभन्दै तत्कालै तरलता अभाव अन्त्य गर्न व्यवसायीहरुले जोड दिएका छन् । मोरङ व्यापार संघले संस्थागत निक्षेपको ब्याजदर घटाउनु पर्ने मुद्दालाई देशव्यापी आन्दोलनमो मुद्दा बनाउने तयारी गरेको छ । नेपाल उद्योग वााणिज्य संघका पूर्व केन्द्रीय सदस्य महेश जाजुले यो विषयलाई देशव्यापी बनाउन पहल गर्ने बताए ।


