दमक । झापाको दमकमा फोहोरबाट ग्याँस र प्राङ्गारिक मल उत्पादन गर्ने योजनाको काम अन्तिम चरणमा पुगेको छ ।
चैत महिनाभित्रमा फोहोर प्रशोसन केन्द्रको काम सकेर ग्याँस र प्राङ्गारिक मल उत्पादन सुरु हुने नेक्स्ट इरा इनर्जी प्रालि÷रोहन ड्रेडर्स प्रालि जेभीले जनाएको छ ।
योजनाको काम अन्तिम चरणमा पुगेको जेभीका प्रबन्ध निर्देशक विमल खतिवडाले बताए । फोहोरको दीगो व्यवस्थापन र प्रशोधन गर्न नसक्दा समस्या बनिरहेको बेला प्रशोधन गरि ऊर्जा उत्पादन गर्न लागिएको हो । फोहोरबाट अब घरका भान्सामा प्रगोग हुने ग्याँसदेखि खेतबारी र गमलामा प्रयोग हुने प्राङ्गारिक मलसमेत उत्पादन हुनेछ ।
दमक नगरपालिकामा कुहिने फोहोर प्रशोधन गरेर ऊर्जा उत्पादन गर्न लागिएको हो । फोहोरबाट ग्याँस, प्राङ्गारिक मल र झोल मल उत्पादन गरिने दमक नगरपालिका सरसफाइ शाखाका प्रमुख दोर्ण थापाले बताए । यसका लागि फोहोर प्रशोधन केन्द्र स्थापना गरिएको छ ।
दमक–३ स्थित हंसेदुम्से सामुदायिक वन क्षेत्रभित्र स्थापना गरिएको प्रशोधन केन्द्रमा नगरको फोहोर लगेर अजैविक अर्थात् प्लाष्टिकयुक्त र जैविक तथा कुहिने वर्गको फोहोर छुट्याइन्छ । यसरी छुट्याइएको फोहोरमध्ये जैविक फोहोरलाई ठूलो ट्याङ्कीमा हालेर १५ दिनसम्म कुहाइन्छ । कुहिएको फोहोरबाट मिथेन वायोग्याँस उत्पादन हुनेछ ।
उत्पादन भएको ग्याँसलाई प्रशोधन गरी ग्याँस पाइप र सिलिण्डरमार्फत वितरण गर्ने योजना छ । बाँकी कुुहिएको फोहोरबाट प्राङ्गारिक मल उत्पादन गरिन्छ भने जमेको तरल पदार्थबाट झोल प्राङ्गारिक मल उत्पादन गरिनेछ ।
फोहोर प्रशोधनका लागि २२ मिटर चौडाई र ८ दशमलव ५ मिटर उचाई भएको विशाल पक्की ट्याङ्की निर्माण भइसकेको छ । त्यसबाट दैनिक १ हजार ८४ किलोग्राम वायोग्याँस उत्पादन गर्न सकिने बताइएको छ । यस्तै दैनिक १० हजार किलोग्राम प्राङ्गारिक मल र ७ हजार ५ लिटर झोल मल उत्पादन गर्न सकिने फोहोर ब्यवस्थापन शाखा प्रमुख थापाले बताए ।
कुल २० करोड ५८ लाख ९७ हजार रुपैयाँ लागत रहेको आयोजनामा १४ करोड ७० लाख बढी लागत सहभागिता नेक्स्ट इरा इनर्जी प्रालि÷रोहन ड्रेडर्स प्रालि जेभीको छ । बाँकी ५ करोड ८ लाख बढी वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको लगानी रहेको छ ।
दमक क्षेत्रमा दैनिकजसो २० टन फोहोर उत्पादन हुने गरेको छ । जसमध्ये दमक नगरपालिका क्षेत्रमा ६६ दशमलव ५२ प्रतिशत जैविक फोहोर रहने गरेको छ । कागज तथा कागजजन्य ६ दशमलव ५५ प्रतिशत, प्लाष्टिक तथा प्लाष्टिकजन्य ५ दशमलव ३७ प्रतिशत फोहोर निस्किने नगरपालिकाले जनाएको छ ।

