विराटनगर । राष्ट्रपति कार्यालयबाट विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीलाई एक्कासी फोन आयो र काठमाडौं बोलाइयो । उक्त फोनले पराजुलीलाई झस्कायो । चुनावको मुखमा राष्ट्रपतिले के भन्नलाई राष्ट्रपति कार्यालय बोलाइएको हो भन्ने विषय खुल्दुली भइरहयो ।
दुई हप्ता अगाडि उक्त निम्तो मान्न पराजुली राष्ट्रपति कार्यालय हाजिर भए । राष्ट्रपति कार्यालयमा पराजुली पुग्दा एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेल पनि थिए । त्यसले झनै पराजुलीलाई झस्कायो । एमाले अध्यक्षलाई राखेर के गर्न खोजेको भन्ने शंका उब्जायो । तर, त्यस सन्दर्भमा राष्ट्रपति विद्यादेवी भण्डारीले विराटनगरमा एक रात बस्ने चाहना राखिन् । यद्यपि सुरक्षा प्रोटोकलका कारण आफू बस्न नपाउने भन्दै पराजुलीसँग गुनासो गरेको स्रोतको दाबी छ ।
प्रमुख पराजुलीसँगको दुई घण्टा लामो कुराकानीका क्रममा राष्ट्रपति भण्डारीले विराटनगरमा बसेको, महेन्द्र मोरङ क्याम्पसमा राजनीति गरेको, मदन भण्डारीसँग विवाह भएको लगायतका सन्दर्भमा भलाकुसारी गरेकि थिइन् ।
त्यसै सन्दर्भमा राष्ट्रपति भण्डारीले भनिन्, ‘विराटनगरमा एकरात बस्ने मेरो इच्छा छ, सुरक्षा प्रोटोकलले दिँदैन र इटहरी लगिहाल्छन् ।’ भण्डारीले सो सन्दर्भमा तामझामको कार्यक्रम गर्ने भन्दा चिनेजानेका यहाँका अग्रज तथा दौतरीहरुसँग अनौपचारिक भलाकुसारी गर्ने इच्छा राखेकी थिइन् । ‘विराटनगर बसेर तामझामवाला कार्यक्रम गर्ने भन्दा पनि अनौपचारिक हिसावले गफगाफ गर्ने राष्ट्रपतिको चाहना छ,’ स्रोतले भन्यो ।
विराटनगर आउने चाहना राखेको कुरा प्रष्ट पार्दै विराटनगरका प्रमुख भीम पराजुलीले सोही अनुसारको कार्यक्रमको तयारी गरिरहेको बताए । ‘विराटनरमा एउटा प्रोग्राम राख्ने कुरा भइरहेको छ । महेन्द्र मोरङको प्राज्ञिक व्यक्तिहरु, स्ववियुका पूर्व सभापतिहरू, पदाधिकारीहरूसहितको कार्यक्रम राख्ने कुरा भएको छ’, पराजुलीले भने, ‘त्यसको विषयमा हामी छलफल गर्ने तयारीमा छौं । उपर्युक्त समयमा राष्ट्रपतलिाई बोलाउने तयारीमा छौं ।’
विराटनगरमा सुरक्षा प्रोटोकलको नाममा नेपाली सेनाले बस्न नदिने गरेको स्रोतको भनाइ छ । यसअघि कतिपय प्रधानमन्त्रीहरु विराटनगर आउँदा हाटखोलास्थित नेपाल राष्ट्र बैंकको गेष्ट हाउसमा बस्ने गरेका थिए ।
पूर्व राष्ट्रपति रामवरण यादव पनि एक पटक विराटनगर आउँदा जैन भवनमा बास बसेका थिए । पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला विराटनगर आउँदा आफ्नै घरमा बस्थे । तर, अहिलेकी राष्ट्रपति भण्डारीलाई सुरक्षाको कारण देखाउँदै कहाँ राख्ने भन्ने चिन्ता देखिएको छ । यता प्रदेश १ का प्रहरी प्रमुख डिआइजी अरुणकुमार बिसीले राष्ट्रपतिलाई विराटनगरमा बस्न कुनै सुक्षा चुनौति नरहेको बताए । ‘उहाँलाई त्यसखालको व्यवस्थापन गर्न सकिन्छ, सुरक्षा संयन्त्रले विराटनगरमा व्यवस्थापन गरौं भन्ने निर्णय गर्यो भने त्यसको लागि हाम्रो संयन्त्र तयार छ,’ बिसीले भने ।
राष्ट्रपति भण्डारीको विराटनगरसँगको साइनो
राष्ट्रपति विद्यादेवी भण्डारीको विराटनगरसँग विशेष साइनो छ । उनले महेन्द्र मोरङ क्याम्पसमा अध्ययन गरेकी हुन् । उनी महेन्द्र मोरङको स्ववियु निर्वाचनमा कोषाध्यक्ष समेत निर्वाचित भएकी थिइन् । उनी पञ्चायत विरोधी आन्दोलनको बेलामा पटक–पटक विराटनगरमा सुरक्षा निकायको पिटाइ खाएकी छिन् भने गिरफ्तारमा पनि परेकी छिन् । उनी विराटनगरमै रहँदा आठ वर्षसम्म अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को पूर्वी क्षेत्र–सङ्गठनको नेतृत्वमा रहेकी थिइन् ।
उनको विराटनगरसँग साइनो रहनुमा महेन्द्र मोरङ क्याम्पस मात्रै होइन । उनको श्रीमान मदन भण्डारीसँग पनि विराटनगरमै भेट भएर विवाह पनि विराटनगरमै भएको हो । भण्डारीको विवाह २०३९ सालमा कम्युनिष्ट पार्टीका लोकप्रिय नेता मदन भण्डारीसँग भयो । उनको विवाह महेन्द्र मोरङ क्याम्पसको दक्षिणमा रहेको एक घरमा अशोक राईको पहलमा भएको थियो ।
– रातोपाटीबाट साभार