लोड हुँदैछ...

मेनु

केपी ओलीलाई प्रदेश १ का मुख्यमन्त्री राईको काउन्टर : प्रदेश १ को नाम ‘कोशी–किरात’

केपी ओलीलाई प्रदेश १ का मुख्यमन्त्री राईको काउन्टर : प्रदेश १ को नाम ‘कोशी–किरात’

विराटनगर । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश १ को नाम कोशी राख्न सुझाव दिएपछि यहाँका मुख्यमन्त्री राजेन्द्रकुमार राईले काउन्टर जवाफ दिएका छन् ।

उनले तत्कालिन एमालेको निर्णय तथा नेकपा हुँदाखेरिको संसदीय दलमा कोशी–किरात राख्नुपर्छ भन्नेको बहुमत रहेको बताउँदै त्यसै आधारमा आफ्नो पार्टी अगाडि बढ्ने बताए । एमाले अध्यक्ष ओलीले झापामा आयोजित एक कार्यक्रममा प्रदेश १ को नाम कोशी हुनुपर्ने सुझाव दिएका थिए ।

उक्त कुरा तत्कालिन नेकपाले नै अस्वीकार गरेको बताउँदै त्यसबेला कोशी नाम राख्नुपर्छ भन्नेको संख्या ३÷४ जना मात्रै रहेका बरु सगरमाथा राख्नुपर्छ भन्ने बढी भएको उनले बताए ।

‘स्वतन्त्र भोटिङ गर्ने हो भने बहुमत सांसदले किराँत–सगरमाथा राख्नुपर्छ भन्नेमा मत हाल्छन् तर, दुई तिहाई चाहिं पुग्दैन,’ उनले भने, ‘त्यतिबेलाको नेकपाको संसदीय दलको बैठकमा कुरा राख्दा सगरमाथा किराँत राख्न बहुसंख्यकको सुझाव थियो । कोशी भन्ने त दुई चार मत मात्रै थियो । कोशी भन्दा त सगरमाथा भन्नेहरू धेरै छन् ।’

राईले आफ्नो पार्टीको निर्णय र लाइन पनि विगतको एमालेले गरेको निर्णयको आधारमा भएको भन्दै तत्कालिन एमालेले कोशी–किरात हुनुपर्छ भन्ने विषयमा निर्णय गरेको दाबी गरे । ‘मैले पुरानो निर्णयलाई, दस्ताबेजलाई हेर्ने हो भने यो ठाउँ भनेको किरात–कोशी भनेर स्पष्ट साथ लेखिएको थियो,’ उनले भने, ‘त्यही आधारमा हाम्रो पार्टीको धारणा भनेको बहुपहिचानको आधारमा किरात–कोशी हुनुपर्छ भन्ने हो ।’

उनले आफ्नै कार्यकालमा यो विषयलाई टुंगोमा पुर्याउन पहल गर्ने पनि बताए । अर्को प्रसंगमा उनले आउँदो स्थानीय तहको निर्वाचनमा एमाले कमजोर हुने दाबी गरे । आफ्नो पार्टी सुदृढ भइनसकेको भएपनि एमाले जस्ताको तस्तै नरहने उनले बताए । ‘गठबन्धन भयो भने एमाले शून्य जस्तै हुने देखिन्छ,’ उनले भने । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीले अब एक महिने गठन पुनःगठन र प्रशिक्षणको कार्यक्रम चलाउने तयारी गरेको र त्यो चुनावको तयारी नै हुने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।