लोड हुँदैछ...

मेनु

‘होस्टेलको बहानामा बढी पैसा लिने नोबेल मेडिकल कलेजमाथि कारबाही हुन्छ’ : चिकित्सा शिक्षा आयोग

‘होस्टेलको बहानामा बढी पैसा लिने नोबेल मेडिकल कलेजमाथि कारबाही हुन्छ’ : चिकित्सा शिक्षा आयोग

विराटनगर । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा. डा. श्रीकृष्ण गिरीले विराटनगरमा रहेको नोबेल मेडिकल कलेजमाथि कारबाही हुने बताएका छन्। आज सिंहदरबारमा बसेको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै उनले नोबेल मेडिकल कलेजले विद्यार्थीहरूमाथि होस्टेलको बहानामा बढी पैसा लिएको सत्य भएको र पटक–पटक ध्यानाकर्षण गराए पनि कलेजले अटेरी गरेको भन्दै अबको विकल्प कारबाही भएको बताएका हुन् ।

उपाध्यक्ष गिरीले छात्रावास उचित भए पनि छात्रावासमा बस्न मात्रै विद्यार्थी भर्ना नभएको उल्लेख गरे । उनले छात्रावासमा नबसेकै कारण विद्यार्थीहरूलाई कलेजले पठनपाठनबाट वञ्चित गराउन नमिल्ने बताए । उपाध्यक्ष गिरीले कलेजलाई आयोगको तर्फबाट बारम्बार ध्यानाकर्षण गरे पनि कलेजले अपहेलना गरिरहेको भन्दै अबको विकल्प भनेको सिट नदिने वा सम्बन्धनको खारेजी भएको बताए । उनले कलेजलाई कारबाहीका लागि आयोगमा छलफल गर्ने पनि बताए ।

उपाध्यक्ष गिरीले भने, ‘नोबेलले होस्टेल अनिवार्य गरेर बढी पैसा लिने काम भइरहेको छ, अनिवार्य गरेर जबरजस्ती पैसा असुल्न पाइँदैन । छात्रावास हुनु राम्रो कुरा हो तर छात्रावासमा बस्नका लागि विद्यार्थी कलेजमा भर्ना भएको होइन । कलेजमा पढ्नका लागि हो । छात्रावासमा नबसेको कारणले विद्यार्थीलाई पठनपाठनबाट वञ्चित गर्न पाइँदैन । अब हामीसँग बाँकी भएका कुराहरू भनेको त्यो कलेजलाई कारबाही गर्ने हो । सिट सङ्ख्या घटाउने, वा नदिने, अथवा सम्बन्धन खारेज गर्ने । यी कुरा गर्नका लागि हामी आयोगमा कुरा उठाउँछौँ ।’

त्यस्तै आयोगका सदस्य सचिव डा.भोजराज काफ्लेले अहिलेको विद्यार्थीको विषय भनेको रकमको नभइ जीवनरक्षा, एकेडेमिक कुरा र छात्रावासको मात्र भएको बताए। उनले कलेजले छात्रावास अब अनिवार्य नगर्ने भनिसके पनि अटेर गरिरहेको बताए ।

नोबेल मेडिकल कलेजको एमबीबीएस प्रथम वर्षका १० जना विद्यार्थीले कलेजमा सुरक्षा चुनौती रहेको भन्दै काठमाण्डौको माइतीघरमा रिले अनशन बसिरहेका छन् । उनीहरूले कलेज स्थानान्तरणको माग सम्बोधन नभएका कारण गएको पुस पहिलो हप्तादेखि एमबीबीएस प्रथम वर्षको कक्षा सञ्चालन भइरहेको र स्थानान्तरण नहुँदा आफ्नो पढाइ बिग्रिएको गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।