विराटनगर । मोरङको धनपालथान गाउँपालिका– ४ कर्सिया बजारमा रहेको नमूना सहकारी संस्था लिमिटेडको १ करोड ९० लाख रुपैयाँ घोटला प्रकरणमा सहकारीका प्रबन्धक पक्राउ परेका छन् । सहकारीको रकम हिनामिना गरेको आरोपमा प्रहरीले सहकारीका प्रबन्धक सुनवर्षी नगरपालिका –९ डायनियाँ घर भएका ६७ वर्षे मो. सलिमउद्दिनलाई पक्राउ गरेको हो ।
प्रहरीले यसअघि सहकारीका दुई जना कर्मचारीलाई पक्राउ गरिसकेको छ । सहकारीका लेखापालको रुपमा कार्यरत धनपालथान गापा ४ कर्सियाका ६० वर्षे सविलाल राजवंशी र सोही ठाउँका सह–लेखापालको रुपमा कार्यरत ५५ वर्षे राजकुमार राजवंशी फागुन ४ गते पक्राउ गरि प्रहरीले अनुसन्धान गर्दै आएको थियो ।
पक्राउपरेका सहकारीका कर्मचारीको बयानका आधारमा प्रबन्धक सलिमको पनि संलग्नता रहेको खुलेपछि उनलाई पनि पक्राउ गरि अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका सलिमसहित तीन जनलाई इप्रका रंगेलीले आइतबार ठगी मुद्दामा मोरङ अदालतमा म्याद थप गरि अनुसन्धान सुरु गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मञ्जिल मुकारूङले जानकारी दिए ।
अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार पक्राउ परेका सहकारीका लेखापाल सविलाल राजवंशीले १ करोड, सह–लेखापाल राजकुमार राजवंशीले ६० लाख र प्रबन्धक सलिमले ३० लाख रुपैयाँ भन्दाबढी रकम हिनामिना गरेको प्ररम्भिक अनुसन्धानबाट खुलेको छ । ‘सहकारीको रकम कसले कति हिनामिना र कहाँ खर्च गरे भन्ने विषयमा अनुसन्धान भइरहेको छ, थप अनुसन्धानपछि सबै खुल्नेछ,’ सहकारी घोटलकाको अनुसन्धान गर्दै आएका एक प्रहरी अधिकृतले भने ।
सहकारी सञ्चालक समितिका उपाध्यक्ष सर्वेलाल राजवंशीले लेखा परीक्षण प्रतिवेदनले सरकारीको ठूलो रकम भ्रष्टाचार भएको देखाएको बताए ।लेखा परीक्षण प्रतिवेदनले अनियमितता पुष्टि गरेपछि सहकारीका तर्फबाट पनि छानविन समिति बनाइएको थियो । धनपालथान–४ का वडाध्यक्ष रोशन राजवंशीको नेतृत्वको समितिले पनि हिनामिनामा संलग्न भएको राजवंशीको दाबी छ ।
लेखा परीक्षण प्रतिवेदन र छानविनबाट अनियमितता भएको फेला परेपछि प्रहरीमा जाहेरी दिएको उनको भनाइ छ । सहकारीको झण्डै दुई करोड रुपैयाँ सहकारीका प्रबन्धकसहित कर्मचारीहरुले २०७४-०७५ देखि आर्थिक वर्ष २०७७-०७८ सम्ममा विभिन्न शिर्षकहरुमा शहकारीको रकम हिनामिना गरेको लेखा परीक्षण प्रतिवेदनबाट देखिएको छ ।
सहकारी २०३५ सालदेखि सञ्चालित छ भने त्यसमा ५१० सदस्य आवद्ध छन् । सहकारीका अध्यक्ष गुलावचन मण्डल धनपालथान ३ का वडाध्यक्ष पनि हुन् । लेखा परीक्षण प्रतिवेदनबाट सहकारीका कर्मचारीको मिलेमतोमा रकम हिनामिना भएको देखिएपछि प्रहरीमा किटानी जाहेरी दिएर पक्राउ गरि अहिले अनुसन्धान भइरहेको अध्यक्ष मण्डलले बताए ।
सहकारीका जिल्ला प्रतिनिधि बाशु रायका अनुसार मिलका लागि धान तथा गहुँ खरिद, बालुवा र गिट्टी ढुवानी तथा सनपाट खरिद एवम् बिक्रीका क्रममा हिनामिना गरेको पाइएको छ । साथै बचतकर्ताको रकमसमेत आफूखुसी चलाएर फिर्ता नगरेको उनको भनाइ छ ।

