विराटनगर । संखुवासभाको भोटखोला क्षेत्रमा खाद्यान्न संकट भएपनि स्थानीयलाई खाद्यवस्तु उपलब्ध गराउन गम्भीर नभएको भन्दै सरकारको आलोचना भएको छ । भोटखोला गाउँपालिकासम्म पुग्ने बाटो बन्द भएपछि खाद्यान्न लगायत सबै वस्तुको ढुवानी बन्द हुँदा खाद्य संकट उत्पन्न भएको हो ।
उच्च हिमाली क्षेत्रमा पटक पटक भएको हिमपातका कारण आवागमन बन्द हुँदा खाद्यवस्तु ढुवानीमा समस्या भएको हो । भोटखोला क्षेत्रमा गत मंसिर महिनादेखि संखुवासभाबाट खाद्यान्न ढुवानी नहुँदा खाद्यान्न अभाव भएको गाउँपालिकाका अध्यक्ष तेम्मा भोटेले बताए ।
‘नेपालका बजारमा जाने अवस्था छैन,’ उनले भने, ‘हिउँ पग्लिन ढिला हुँदा चौँरी तथा खच्चडसमेत जान सक्ने अवस्था भएन ।’ भोटखोलाबाट किमाथांका पारि चिनियाँ बजार नजिक पर्छ । तर नाका बन्द भएकाले त्यहाँ पनि जाने अवस्था नरहेको बताइएको छ ।
खाद्यान्न संकट टार्नका लागि चीन सरकारले तीन–चारपटक चामल, नुन तेल, चिनी लगायतका खाद्यान्न सामग्री भने सहयोग गरेको अध्यक्ष भोटेले बताए । पालिकास्तरीय दैवी प्रकोप उद्धार समितिले निर्णय गरेर मागेपछि चीन सरकारले तत्काल सहयोग गरेको जानकारी उनले दिएका छन् । तर, नेपाल सरकारले भने खाद्यान्न उपलब्ध गराउन गम्भीरता नदेखाएको गुनासो उनले गरेका छन् ।
किमाथांका, थुदाम, रिदाक, हुम मुङ लगायतका क्षेत्रका बासिन्दाले चिनीयाँ बजारबाट खाद्यान्न लगायतका दैनिक उपभोग्य सामग्री आपूर्ति गरेर जीवन चलाउँदै आएको बताइएको छ । ‘नेपाल सरकारले एमसीसी पारित गरेपछि चीन सरकार रिसाएको छ भन्ने सुनेका छौं,’ भोटखोला गाउँपालिका १ का अध्यक्ष तेनछेवी शेर्पाले भने, ‘हामीलाई कुनै समस्या हुने हो कि भन्ने चिन्ता छ ।’ नेपालसँग जोडिएका कतिपय सीमा नाकाहरु दुई वर्षदेखि बन्द रहेका कारण त्यो नाकापनि बन्द हुने डर उनीहरुलाई छ ।
वरुण खोलामा पुल नभएका कारण वैशाखदेखि चौँरी, खच्चड तथा भरियाका भरमा खाद्यान्न लाने गरेको वडा अध्यक्ष शेर्पाले जानकारी दिए । ३ सय २१ परिवारमा खाद्यान्न अभाव शुरू भएको जिल्ला प्रशासन कार्यालय संखुवासभाले जनाएको छ । विशेष गरेर किमाथांकाका दुईवटा वडामा समस्या उत्पन्न भएको प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले बताए ।
१ र २ नम्बर वडाका जनता हिमपातका कारण नेपालका बजारमा जान नसक्ने र चीनका बजारमा जान पनि नाका बन्द भएकाले खाद्यान्न अभाव हुन थालेको उनले बताए । गृह मन्त्रालयले भोटखोलाका लागि सय क्विन्टल चामल र ७ क्विन्टल दाल पठाएको भएपनि त्यहाँसम्म ढुवानी गर्न नसकेको प्रजिअ खतिवडाले जानकारी दिए । हिउँ नपग्लिएका कारण त्यहाँसम्म पुग्ने बाटो नभएको र सामान ढुवानीमा समस्या भएको उनले बताए । उनका अनुसार गृहमन्त्रालयबाट ढुवानीका लागि रकम पठाउँदासमेत ढुवानी गर्न गाह्रो परेको छ ।
चिनियाँ नाका विगत झैं सुचारु नभएका कारण त्यस क्षेत्रमा आर्थिक संकटसमेत रहेको बताइएको छ । त्यहाँका स्थानीयहरु चिनियाँ भूभागमा रोजगारी गर्न जाने गरेको तर पछिल्लो समय उनीहरु रोजगारका लागि त्यस तर्फ जान नपाएका कारण आर्थिक अभाव समेत देखापरेको बताइएको छ । खाद्यान्न संकट भएपछि प्रदेश सांसद पद्म कुमारी गुरुङले प्रदेश सभामा कुरा उठाएकी थिइन् । सोमवार बसेको प्रदेश सभा बैठकमा उनले सो क्षेत्रका जनतालाई खाद्यान्न पु¥याउन उनले प्रदेश सरकारसँग माग गरिन् । तर, प्रदेश सरकारले पनि भोटखोलाको खाद्य संकट टार्न पहल बढाएको छैन ।

