मेरो प्यारो बच्चा !
खुबसँग चुस मेरो स्तन
अघाउनेगरी चुस र
नरोइकन सुत यो बङ्करभित्र,
म जाँदैछु यतिबेला
मानवता रक्षाको लागि प्रतिरोधी युद्धमा
राष्ट्रको नायक जेलेंस्कीसँगै
बन्दुक बोकेर काँध मिलाउनु छ मैले ।
मेरो मुटुको टुक्रा !
म यो महासमरमा
छाती थापेर गृनेट बोकिरहेछु,
मैले टेकेको जमिनमाथिको आकाशमा
मानवता पुरिएको
धुवाँको पहाड उभिएको छ,
मैले टेकेको मेरो धर्ती
मिसाइलको चोटले काँपिरहेछ,
बिषाक्त रकेटको
बाढी बगिरहेछ आकाशभरि,
मान्छेको हरियो सपना निलेर
उष्ण खरानीको कात्रोमा
बेरिरहेछ जिन्दगीको शान्तिपूर्ण यात्रा,
मृत्यु बोकेर आएका टैंकर र
त्यसमा सवार जीवित कलङ्कहरु
लाशसँग खेल्न खुब रुचाउँछन् ,
अग्निपथको बाटो हुँदै लड्नु पर्ने स्वाधिनताको यो विपुल युद्धबाट
म पिठ फर्काएर भाग्न सक्दिनँ,
तिमी नरोई सुत्नू –
फर्किएर आएँछु भने
फेरि दूध चुसाउनेछु तिमीलाई ।
भ्याकुम बमले निशाना साँध्यो भने
सास फेर्न नसकेर मर्न सक्छु,
लन्चरले छेड्न पनि सक्छ मेरो छाती,
बौलाहा टैंकरले थिचेर
मिलाइदिन सक्छ मेरो शरीर माटोमा,
बारुदले सल्काउन सक्छ
बमले खरानी बनाउन सक्छ मेरो शरीर,
केही फरक पर्दैन,
म त परमाणु बमको
सामना गर्ने मुटु बोकेर मैदानमा उत्रिँदैछु
राष्ट्रको नायक
जेलेंस्कीसँगै एकाकार भएर
शत्रु विरुद्ध युद्ध लड्न जाँदैछु ।
मेरो बच्चा !
अहिले खुब चुस मेरो स्तन
अनि नरोई सुत
म फर्किएर आएँछु भने
फेरि चुसाउनेछु लोरी गाउँदै–गाउँदै
कथम्कदाचित् आइनछु भने
तिमी मर्ने छैनौ
कुनै आमा आउनेछिन्
तिमीलाई दूध चुसाउन बङ्करभित्र ।