कोशी अस्पताल दिनभर तनावग्रस्त

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा ५ महिनाको बालकको मृत्यु भएपछि अस्पताल दिनभरी तनावग्रस्त बनेको छ ।

विराटनगर–६ बह्रमहापुराका सुनिल चौधरीको ५ महिनाको छोराको आकस्मिक कक्षमा उपचारको क्रममा शुक्रबार विहान १० बजे मृत्यु भएपछि विरामीका आफन्तहरुले दिनभरी तनावग्रस्त बनाएका हुन् ।

उनीहरुले चिकित्सकको लापरवाहीले विरामीको मृत्यु भएपछि अस्पतालको आकिस्मक कक्ष बाहिर दिनभरी प्रर्दशन गरे । ठूलो संख्यामा भेला भएका विरामीका आफन्तले नाराबाजी गर्दै प्रदर्शनमा उत्रिएपछि मोरङ प्रहरीले बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरेका थिए ।

दुई घण्टा मृतकका आफन्तहरुले प्रदर्शन गरेपछि दिउँसो १२ बजे बैठक बसेको थियो । मृतकका आफन्त, अस्पताल, प्रशासन र स्थानीय जनप्रतिधिनीहरुबीच अस्पतालले घटनाको आन्तरिक रुपमा छानविन गर्ने प्रतिवद्धतासहित तीन बुँदे सहमति गरेपछि आफन्तले शव बुझेका छन् ।

अस्पतालका मेसु डा. यज्ञराज खरेलसहित स्थानिय प्रशासन, विराटनगर ६ का वडाअध्य बिजय कामत र मृतकका आफन्तहरुबीच तीन बुँदे सहमति गरेपछि शुक्रबार दिउँसो शव बुझेका हुन् ।

मृतकका आफन्त र अस्पतालबीच बालकको मृत्यु भएको घटनाको अस्पतालले आन्तरिक रुपमा छानवीन गर्ने र छानविन प्रतिवेदन हप्ता दिनभित्रमा सार्वजनिक गरिने, छानविनबाट विरामीको लापरबाहीले मृत्यु भए उपचारमा संलग्न चिकित्सकलाई कारवाही गरिने, स्वास्थ्यकर्मीहरुको बोल्ने आचरण विरामी मैत्री हुनुपर्ने प्रतिवद्धता हस्पिटलले जनाएपछि सहमति भएको कोशी अस्पतालका मेसु खरेलले बताए ।

यता कोशी अस्पतालका आकस्मिक कक्षको विभागीय प्रमुख डा. पुजा कोइरालाले बच्चामा कडा निमोनिया भएको र अस्पतालमा अन्तिम अवस्था भएपछि विरामी ल्याएको बताइन् । ‘बच्चालाई कडा निमोनिया थियो । त्यही भएर स्वासप्रश्वासमा समस्या भयो । त्यही बेलामा बच्चाको आमाले दूध पनि खुवाएको कारणले सर्किएर झन समस्या भएको रहेछ,’ डा. काइरालाले भनिन्, ‘अन्तिम अवस्था भएर हस्पिटल ल्याएको बच्चालाई अस्पताका चिकित्सकहरुले बचाउने कोसिस गर्दा गर्दै बचाउन नसकिएको हो ।’ चिकित्सकले कुनै पनि लापरबाही नगरदिएको उनको भनाइ छ ।

शुक्रबार, २० फागुन, २०७८, साँझको ०६:२२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर