विराटनगर । पेट्रोलियम पदार्थ बिक्री वापतको कमिशन कटौती गरेको भन्दै आज नेपाल आयल निगमका अधिकृत बिक्रेताहरुले इन्धन खरिद गर्न इन्कार गरेका छन् ।

निगमको विराटनगर स्थित प्रादेशिक कार्यालयबाट पनि दिउँसो साढें १ बजेसम्म कसैले इन्धन खरिद नगरेको कार्यालय प्रमुख अशोक साहले जानकारी दिए । ‘देशव्यापी रुपमै व्यवसायीहरुले इन्धन खरिद नगर्ने भनेका कारण हामीकहाँबाट पनि बिक्री भएको छैन, तर व्यवसायी संघसँग छलफल भइरहेकोले दिउँसो २ बजेपछि डिमाण्ड सुचारु हुने सम्भावना छ,’ प्रमुख साहले भने ।

नेपाल आयल निगम विराटनगर प्रादेशिक कार्यालयबाट दैनिक एक हजार किलोलिटर अर्थात् १० लाख लिटर डिजेल र ४ लाखदेखि ४ लाख ५० हजार लिटर पेट्रोल बिक्री हुँदै आएको छ ।

विश्व बजारमा इन्धनको मूल्य बढेपछि त्यसको असर नेपालमा पनि परेको छ । रुस र युक्रेनबीचको युद्धले विश्वभर पेट्रोलियम र खाद्यान्नको मूल्य वृद्धि हुन थालेको समाचारहरु आइरहेका छन् । रुसले युक्रेनमाथि आक्रमण गर्नु अघि ९२ डलर प्रतिब्यारेलमा कारोवार भइरहेको कच्चा तेलको मूल्य बढेर बिहीबार ११७ डलर पुगेको थियो । कच्चा तेलको मूल्य बढ्ने क्रम अहिलेपनि जारी छ ।