विराटनगर । कुनै बेला थियो, पूर्वी तराईका जिल्लाका किसानका लागि मुख्य नगदेबाली भन्नु नै जुट खेती थियो । धानपछि सबैभन्दा धेरै खेती हुने गथ्र्यो जुटको ।
पछिल्लो दुई दशकयताको दृश्य फरक छ । जुट खेती क्रमशः मासिँदै गएको छ । पहिले ठूलो क्षेत्रफलमा जुट लगाउने किसानले अहिले कि क्षेत्रफल घटाएका छन् कि त लगाउनै छाडेका छन् ।
लगानीअनुकूल प्रतिफल प्राप्त नहुनु, प्रशोधनको नयाँ प्रविधि नहुनु तथा मजदुरको अभावका कारण किसानको जुटखेतीप्रतिको आकर्षण घट्दै गएको बेला देशमै एकमात्र जुट अनुसन्धान केन्द्र इटहरीले २० वर्षपछि उन्नत नयाँ जातको वीउ सिफारिस गरेको छ ।
किसानले जुटखेती नै घटाउँदै गएका बेला गरिएको उन्नत जातको नयाँ बीऊको सिफारिश कति कामलाग्दो हुने हो यकिन छैन । तर, सिफारिशकर्ता संस्था भने लामो अध्ययनपछि गरिएको सिफारिशले किसानलाई फाइदा पुग्ने बताउँछ । यति लामो समयसम्म पनि उन्नत जातको वीउ सिफारिस गर्न नसक्दा जुट खेती गर्ने किसानले भने बाध्य भएर आफ्नै पाराले वीउ खरीद गरेर लगाउने गरेका छन् ।
जुटवाली अनुसन्धान कार्यक्रम इटहरीका कार्यक्रम संयोजक तिर्थराज रिजालका अनुसार अहिलेसम्म पनि २० वर्षअघि सिफारिस भएकै वीउ किसानले लगाउँदै आएका थिए । अबदेखि भने नयाँ दुई जातिको सिफारिस गरिएको हो । अनुसन्धान केन्द्रले रानी र जोआरओ २०४ जातको वीउ लगाउन सिफारिस गरेको हो ।
अहिलेसम्म किसानले २०५८ सालमा सिफारिस भएको पूराना जात इटहरी १ तिता, इटहरी २ मिठा जातको वीऊ नै चलाई रहेका छन् । यो अवधिमा नयाँ उन्नत जातको वीउ सिफारिस नभएपछि किसानले भारतबाट खरीद गरेर ल्याएर पनि विभिन्न खालको वीऊ लगाउने गरेको जुट अनुन्धान केन्द्रका प्रमुख तथा कार्यक्रम संयोजक रिजाललले बताए ।
दुई दशकअघिसम्म पूर्वी तराईका जिल्लामा धानपछि जुट नै बढी उत्पादन हुने गरेको थियो र तर, पछिल्लो समय जुट खेतीको उत्पादन घट्दो छ । ‘किसानको जुट उत्पादनमा कमी आउनुमा एउटा कारण त उन्नत जातको वीऊ सिफारिस नहुनु पनि हो,’ कार्यक्रम संयोजक रिजालले भने । यसबाहेक झन्झटिलो खेती प्रणाली पनि मुख्य कारण हो । उनका अनुसार पछिल्लो समय भने उन्नत जातको वीउ सिफारिससँगै उत्पादन बढाउनका लागि विभिन्न अभियान थालिएको छ ।
जसमा पछिल्लो समय सिफारिस गर्न लागिएको जोआरओ २०४ जातको वीऊ सुनसरी भोक्राहा नरसिंहका किसान रुद्रनारायण साहले प्रति कट्ठा दस हजार रुपैयाँको जुट उत्पादन गरेका छन् । केन्द्रले किसानलाई हौसला प्रदान गर्नका लागि सिरहाको जमदहमा सामुदायिक वीउ उत्पादन केन्द्र सुरुवात गरेको छ । त्यहाँ यो वर्ष नौ सय केजी वीउ उत्पादन गरिएकोमा यतिबेला सबै किसानले खरीद गरि सकेका छन् ।
जुट अनुसन्धान कार्यक्रम अन्तर्गत इटहरी केन्द्रमा आर्थिक वर्ष २०७७/७८ मा दुई हजार तीन सय केजी वीऊ उत्पादन भएको छ । पछिल्लो वर्ष जुटको मूल्य बढेको र कृषि प्रविधिको विकासले गर्दा पनि किसान आकर्षित हुन थालेको जुट अनुसन्धान केन्द्रको दावी छ । ‘अब रेसा निकाल्ने मेसिन आइसकेकाले गर्दा मजदुर अभाव हुँदा पनि खेती गर्न सहज हुनेछ,’ उनले भने, ‘किसानलाई पटुवासँगै लट्टे साग लगाउनका लागि पनि सचेतना गरिएको छ ।’ यो वर्ष जुटको प्रतिकेजी १४४ रुपैयाँ हाराहारी पुग्यो ।
स्वदेशी उत्पादनले नेपाली जुट पूर्वका जुट उद्योगका लागि १८ देखि २० प्रतिशत मात्र भ्याउने गर्छ । बाँकी नेपाली जुट उद्योगले भारत र वंगलादेशबाट जुट आयत गर्ने गरेका छन् । नेपालबाट उत्पादित जुट सामग्रीको सवैभन्दा ठूलो बजार पनि भारत नै हो । सुनसरी–मोरङ्मा सञ्चालित ११ उद्योगमध्ये अहिले छवटा मात्र चालु छन् । जुट अनुसन्धान केन्द्रका अनुसार आर्थिक वर्ष २०७७–०७८ मा पूर्वमा सात हजार ५५५ हेक्टर क्षेत्रफलमा जुट खेती लगाउँदा दस हजार १६५ मेट्रिक टन उत्पादन भएको थियो । केन्द्रले अब जुटसँगै रवर खेती, हाइब्रिड धान र मकैको पनि अनुसन्धान थालेको छ ।






प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।