लोड हुँदैछ...

मेनु

सामाजिक सुरक्षा भत्तामा अनियमितता भएपछि अख्तियारको छानबिन सुरु

सामाजिक सुरक्षा भत्तामा अनियमितता भएपछि अख्तियारको छानबिन सुरु

खोटाङ । खोटाङको साकेला गाउँपालिकामा सामाजिक सुरक्षाभत्ता अनियमितता भएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ। मृत्यु भइसकेका, कतिपय बसाई सरिसकेका तथा कतिपय हुँदै नभएका व्यक्तिको नाममा ‘फेक डकुमेन्ट’ बनाएर सामाजिक सुरक्षा चुहावट भइरहेको पाइएपछि स्वयं गाउँपालिकाले दिएको उजुरीका आधारमा आयोगले फिल्डमै उपस्थित भएर छानबिन थालेको हो ।

आयोगको टोलीले मंगलबार साकेला गाउँपालिका–४ मात्तिम र साकेला गाउँपालिका–५ मात्तिम मानेभञ्ज्याङबाट छानबिन थालेको हो । एकै आर्थिक वर्ष ८७ लाखभन्दा बढी सामाजिक सुरक्षाभत्ता अनियमितता भएको प्रतिवेदन सार्वजनिक भएपछि साकेला गाउँपालिका आफैंले कारबाहीका लागि १२ पुस २०७७ मा सोसँग सम्वन्धित कागजातको फायल अख्तियारको कार्यालय इटहरीलाई पठाएको थियो ।

आर्थिक वर्ष २०७६–०७७ भित्र मात्रै पाँच वडामा ८७ लाख ४१ हजार ६ सय रुपैयाँ रकम चुहावट भएको प्रतिवेदन सार्वजनिक भएको थियो । गाउँपालिकाले पठाएको प्रतिवेदनमा उल्लेखित लाभग्राहीको नामावलीमाथि अख्तियारले विस्तृत अनुसन्धान थालेको साकेला गाउँपालिका अध्यक्ष अर्जुन खड्काले बताए ।

मृत्यु भइसकेका, कतिपय बसाई सरिसकेका तथा कतिपय हुँदै नभएका व्यक्तिको नाममा ‘फेक डकुमेन्ट’ बनाएर सामाजिक सुरक्षा भत्तामा अनियमितता भइरहेको विषय बाहिरिएपछि गाउँपालिकाकी उपाध्यक्ष सरिता खड्काको संयोजकत्वमा गठित छानबिन समितिले एकै आर्थिक वर्ष लाखौं रकम अनियमितता भएको प्रतिवेदन सार्वजनिक गरेको थियो ।

सामाजिक सुरक्षाभत्ता शीर्षकको लाखौं रकम चुहावट भइरहेको प्रतिवेदन सार्वजनिक भएलगत्तै गाउँपालिकाले आर्थिक वर्ष २०७७–०७८ को दोस्रो चौमासिकदेखि ‘सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि २०७५’ बमोजिम नेपाल एसबीआई बैंक साकेला शाखामार्फत सामाजिक सुरक्षा भत्ता वितरणको व्यवस्था मिलाइसकेको छ ।

सामाजिक सुरक्षा भत्तामा भइरहेका अनियमितता नियन्त्रणका लागि बैंकिङ प्रणाली अपनाइएपछि आर्थिक वर्ष २०७७०७८ को दोस्रो र तेस्रो चौमासिकमा ४६ लाख ७४ हजार ७६६ रुपैयाँ रकम बेरुजु खातामा फिर्ता गएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।