विराटनगर । बस्ती नै जोखिममा हुने गरि विराटनगरको खेलाहरुमा हुने गरेको अवैध उत्खननमा प्रयोग भएको सवारी साधनलाई सामान्य धरौटिमा छोडदा पुनः उत्खननमा प्रयोग हुने गरेको पाइएको छ ।
विराटनगर महानगरपालिकाले बस्तीनै जोखिममा हुने गरि उत्खननमा प्रयोग भएको सवारी साधनहरुलाई सामान्य धरौटि लिएर छोड्दा पुन: तस्करी धन्दामा लागेका गिरोहले पुरानो धन्दा चलाउने गरेको पाइएको हो ।
विराटनगर १४ जतुवास्थित सिंघिया खोलामा अवैध रुपमा उत्खननमा प्रयोग भएको दुइ वटा सवारी साधनलाई इलका प्रहरी कार्यालय रानीले पक्राउ गरि आवश्यक कारवाहीको लागि विराटनगर महानगरपालिका आइतबार पठाएको छ । विराटनगर १४ का जोगी यादव र बुद्ध यादवको को २ त ७९३ र को २ त ५३७२ नंं. ट्याक्टर खोला अवैध उत्खनन गरेको पाइएपछि महानगरपालिकाले आर्थिक ऐन २०७८ अनुसार जनही १०÷ १० हजार रुपैयाँ जरिवना तिरेपछि आइतबार छोडेको छ । यस अघि पनि विराटनगरको सिंघिया र केसेलिया खोलामा अवैध उत्खननको क्रममा प्रहरीले पक्राउ गरि को १ त ४४५३, को १ त ६०१८, नम्बरको ट्याक्टर जरिवना गरि महानगरपालिकाले छोडेको थियो ।
यसरी महानगरपालिकाले बस्ती नै जोखिममा हुने गरि उत्खननमा प्रयोग भएका सवारी साधनलाई सामान्य जरिवना तिराएर सम्झाइ बुझाइ गरेर छोडेपनि उनीहरु पुन ः माहानगरपालिकालाई तिरेको जरिवना रकम असुल्न फेरी अवैध खोला उत्खननमा लाग्ने गरेको पाइएको हो । यसरी चालु आर्थिक वर्षको फागुन १५ गतेसम्म २८ वटा ट्याक्टर पटेकमा कारवाही गरेको महानगरपालिको अभिलेखमा देखिन्छ । अवैध उत्खननमा प्रयोग भइ पटेकमा परेका सवारी साधनलाई दोब्बर जरिवना गरिने गरेको विराटनगर महानगरपालिका नगर प्रहरी प्रमुख प्रहरी निरीक्षक राजन पौडेलले जानकारी दिए ।
‘नगर परिषदबाट पारित भएको आर्थिक ऐन २०७८ अनुसार अवैध उत्खननमा प्रयोग भएका सवारी साधनहरु अहिले कारवाहीको दायारमा ल्याउने गरेका छौं,’ उनले भने, ‘दोस्रो पटक कारवाहीमा परे दोब्बर र तेस्रो पटक परे तेब्बर राजस्व लिने गरिएको छ ।’ चालु आर्थिक वर्षको फागुन १५ गतेसम्म खोला उत्खनन निन्यन्त्रणबाट ३ लाख ३० हजार रुपैयाँ जरिवना असुल गरेको उनले बताए । आर्थिक वर्ष २०७७÷०७८ मा ४० वटा ट्याक्टर कारवाहीमा गरि ४ लाख १ हजार रुपैयाँ जरिवना गरिएको महानगरपालिकाको अभिलेखमा देखिन्छ ।
स्थानीय तहहरूले नदीमा अवैधरूपमा उत्खनन गराइरहेका ट्याक्टरलाई नियन्त्रणमा लिई जरिवाना असुल गर्ने र छाड्ने प्रवृतिका कारण विराटनगरका खोलामा नदीजन्य पदार्थ उत्खनन जारी रहेको स्थानीय पूर्ण बहादुर खड्काले बताए । महानगरपालिकाले दोस्रो पटक भेटिएमा पहिलो पटकको जरिवानामा ५० प्रतिशत थप गरी जरिवाना लिने र तेस्रो पटक भेटिएमा सय प्रतिशत र चौथो पटक भेटिएमा गाडी जफत गर्ने जनाएको छ ।
खोलाजन्य वस्तु निकासीमा रोक लगाए पनि विराटनगरको सिंघिया र केसेलिया खेलाबाट बालुवा उत्खनन अझै रोकिएको छैन । सिंघिया र केसेलिया खोलाहरूमा नदीजन्य पदार्थहरू उत्खनन भइरहेको स्थानीयहरू बताउँछन् । यसरी जथाभावी रुपमा अवैध रुपमा खोला उत्खनन हुदा बस्ती जोखिममा परेको विराटनगर १२ का शिव नारयण यादवले बताए । ‘खोलामा जथाभावी बालुवा र भरोट(बालुवा माटो) उत्खनन गरेकै कारण हाम्रो बस्ती जोखिममा रहेको छ’, उनले भने, ‘अहिले साझ, विहानी र रातीको समयमा सिंघिया खेलामा उत्खनन तथा चोरी निकासी हुने गरेको छ ।’
अहिले जथाभावी रुपमा केसिलिया खोलाको भरोट र बालुवा उत्थनन गरेको असर पछि बर्खायाममा पर्ने गरेको उनले बताए । ‘यहाँको खोलाहरुमा जथाभावी रुपमा भएको उत्खननको दुःख पछि बर्खायाममा पर्ने गरेको छ,’ उनले भने, ‘यसरी अवैध उत्खनन भएको ठाउँदेखि खोलाको बाढी सिधै बस्तीमा पसेर घर डुवानमा पर्ने गरेको छ ।’
विराटनगर १४ का वडाअध्यक्ष बलदेव यादवले खोलामा ट्याक्टर गएर उत्खनन भइरहेको बारे आफूलाई जानकारी नभएको बताए । ‘सिंघिया खोलामा बालुवा चोरी निकासी हुने स्थान हो । उत्खनन भइरहेको छैन भन्न अलि गाह्रो हुन्छ तर, मलाई जानकारी छैन,’ उनले भने । इलका प्रहरी कार्यालय रानी विराटनगरका प्रमुख प्रहरी निरीक्षक प्रकाश राउतले विराटनगर १४ जतुवास्थित सिंघिया खोलामा साइकमा अवैध उत्खनन हुने गरेको पाइएपछि प्रहरीले निगरानी बढाएको बताए । ‘अवैध उत्खनन भएको पाइए हामीले सवारी साधनहरु नियन्त्रणमा लिएर कारावहीको लागि स्थानिय तहमा पठाउने गरेका छौं,’ उनले भने ।

