विराटनगर । सरकार गठन भएको साढे तीन महिनामै प्रदेश १ को सत्ता गठबन्धनमा खटपट सुरु भएको छ ।
सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसको संसदीय दलको आइतबार बसेको बैठकले सरकारको काम कारबाही प्रभावकारी नभएको निष्कर्ष निकालेको थियो । सोमबार बसेको प्रदेशसभाको बैठकमा बोल्दै कांग्रेसकी सांसद ज्योती सुब्बाले त कांग्रेस झोले भएर गठबन्धनमा बस्न नसक्ने बताइन् । त्यसले गठबन्धनको विवाद छताछुल्ल भएको छ ।
कांग्रेस इतर सत्ता गठबन्धन दलका धेरैजसो सांसदले नेपाली कांग्रेसको आन्तरिक गुटउपगुटको असर सत्ता गठबन्धनमा देखा परेको बताएका छन् । केही सांसदले एमसिसी पारित गर्ने विषयमा केन्द्रमा भएको खटपटको असर तलसम्म परेको हुनसक्ने बताएका छन् । नेकपा माओवादी केन्द्रका सांसद धिरेन्द्र शर्माले कांग्रेस आफ्नो चरित्र अनुसार प्रस्तुत हुनु अनौठो नभएको बताए । ‘यो त कांग्रेसको चरित्र हो नि ? काँग्रेस काँग्रेस जस्तै हुनुपरेन ?’, उनले भने, ‘उनीहरुको आन्तरिक गुट र असन्तुष्टि पनि संसदमा प्रस्तुत भएको हो ।’
तर, सत्ता गठबन्धन दल काँग्रेसकै कोटाबाट वन, वातावरण तथा भूसंरक्षणमन्त्री बनेका शेखर चन्द्र थापा भने शर्माको कुरासँग सहमत छैनन् । उनी भन्छन्, ‘सरकार गठबन्धन संस्कृति अनुसार चलेको छैन ।’ सरकारमा सहभागी भएर काम गर्दा सांसदले उठाएको जस्तो कांग्रेसले डोमिनेट भएको अनुभव गरेको हो भन्ने प्रश्नमा उनले भने, ‘अहिलेसम्म त्यस्तै देखिन्छ ।’
‘कांग्रेसका सांसदहरुले उठाएको कुरा स्वभाविक छ, सत्ता गठबन्धनमध्ये कांग्रेस सबैभन्दा ठूलो दल हो,’ थापाले भने, ‘कांग्रेसलाई अझै जिम्मेवार बनाउने र सरकारलाई पनि जवाफदेही बनाउन खोज्नु गल्ती होइन ।’
उनले सरकारमा सहभागी भएका मुख्यमन्त्री तथा मन्त्रीहरू सबैलाई लक्षित गरेर सांसदहरुले कुरा उठाएको पनि बताए । उनले आफ्नो पार्टीभित्रको विवाद हो भनेर अथ्र्याउन खोज्नु गल्ती हुने भन्दै उनले भने, ‘यो गुट–उपगुटको कुरा होइन, सरकार, गठबन्धन संस्कृती अनुसार अगाडि बढोस् भन्ने अपेक्षा हो ।’
नेपाली कांग्रेसका सांसद लोकप्रसाद संग्रौलाले पनि अहिलेकै अवस्थामा सरकार चले गठबन्धन आवश्यक नहुने बताए । ‘यही अवस्थामा यस्तै तरिकाले सरकार चल्ने हो भने गठबन्धन किन आवश्यक भयो ?,’ उनले भने, ‘काम कारबाही प्रभावकारी ढंगले गर्नुपर्यो, मन्त्रालयको संख्या र मन्त्री बढाएर मात्रै हुँदैन, जनताको अपेक्षालाई सम्बोधन गर्न पनि सक्नुपर्छ ।’
यता नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का नेता तथा सरकारका यातायात व्यवस्था तथा संचारमन्त्री उपेन्द्र घिमिरेले गठबन्धन दलहरुबीच छलफलको माध्यमबाट सबै समस्याको समाधान हुने बताए । ‘सरकारको विषयमा कांग्रेस सांसदहरुलाई चित्त बुझेको छैन भने हामी बसेर समाधान गर्न सक्छौं, अहिले नै गठबन्धमा धेरै ठूलो समस्या पैदा भएको होइन ।’
यता गठबन्धन दलहरुले सरकार संचालनका लागि बनाएको सर्वदलीय संयन्त्रका संयोजकसमेत रहेका नेपाली कांग्रेस संसदीय दलका नेता राजिव कोइरालले गठबन्धनको काम छैन भन्ने सांसदहरुको कुरा व्यक्तिगत भएको बताए । ‘उहाँहरुले बोलेको कुरा व्यक्तिगत कुरा हो, दलको कुरा होइन,’ कोइरालाले भने, ‘के कारणले त्यो कुरा आयो, किन बोल्नुभयो, यस विषयमा हामी १९ गते पछाडि बस्ने संयन्त्रको बैठकमा छलफल गर्छौं ।’ गठबन्धन टुट्ने हिसावले कांग्रेसले नसोचेको उनले बताए ।
यता एकीकृत समाजवादीका एक नेताले कांग्रेसको गतिविधि सन्तोषजनक नभएको बताए । ‘गठबन्धन भित्र खटपट भएको विषयमा संसदीय दल नेताहरुले सम्बन्धीत ठाउँमा राख्ने हो,’ नाम उल्लेख नगर्न भन्दै उनले भने, ‘अर्को ठाउँ भनेको क्याबिनेटमा राख्ने हो । आफ्ने व्यक्तिगत कुरा हो भने फरक कुरा हो ।’ मन्त्री बनाउनु पर्छ भन्ने माननीयहरुले मन्त्री बन्न नपाएको झोंकमा सरकारको आलोचना सुरु गरेको उनको भनाइ थियो ।