प्रदेश १ प्रदेशसभा बैठक : एमाले सांसदहरू आक्रामक

विराटनगर । प्रदेश १ को प्रदेशसभा बैठकमा एमालेका सांसदहरू ले वर्तमान गठबन्धन सरकारप्रति व्यंग्यात्मक टिप्पणी गरेका छन् ।

प्रदेशसभाको बैठकमा विशेष समय लिएर बोल्दै एमाले संसदीय दलका नेता भीमप्रसाद आचार्यले सरकारविरुद्ध खरो आलोचना गरे ।

पूर्व मुख्यमन्त्रीसमेत रहेका आचार्यले सरकार छ काम छैन भन्दै संसदलाई नै काम दिन नसक्ने सरकारले विकासको काम गर्न नसक्ने बताए । आचार्यले सेवा कार्यालयहरू कटौती गर्दा जनताको सेवा प्रभावित भएको बताए । कृषि ज्ञान केन्द्र र बागवानी एकैठाउँमा जोडिएको कुरा अज्ञानता भएको उनले बताए । ‘जनताको सुविधा काट्ने अनि थप्ने मन्त्रालय । वहुवर्षे पुल र सडकको आयोजना ठप्प छ । मन्त्रालय भन्छ पैसा छैन रोक्नु । विकास कटौती गरेर भागवण्डा गर्ने ?,’ उनले भने, ‘कुर्सी च्यापेर, झण्डा हल्लाएर, रमाएर मात्र कहाँ पुुगिन्छ ? संघीयता यहि तालले जाने हो भने संघीयता भार र अभिसाप हुन्छ ।’

त्यसअघि शून्य समय लिएर बोल्दै एमाले सांसद उषाकला राईले मन्त्रालय फुटाएर १४ जना मन्त्री बनाएको सरकारको हालखबर के छ भन्दै प्रश्न सोधिन् । ‘मन्त्रीहरूको सुविधामा कति खर्च भइरहेको छ ? रकमान्तर गरेर बजेट शून्य बनाइदै छ किन ?,’ उनले प्रश्न गरिन् । अर्का सांसद काजिमान कागतेले मन्त्रालय अझै बढाउनु भन्दै व्यंग्य गरे । अर्थतन्त्र डामाडोल भइरहेको र उद्योग र कृषिमा सहुलियत कर्जा दिने भनिए पनि कार्यान्वयन भएको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए ।

एमालेकै अर्का सांसद विमल कार्कीले प्रदेशले नाम नपाएको भन्दै विरोध गरे । सांसद राजकुमार ओझाले लोहन्द्रालगायतका खोलामा अधिक उत्खनन् भएको बताए । उनले नहर सुकेको र खेती प्रभावित भइरहेको प्रति सरकारको ध्यानाकर्षण गराए । सांसद रामबहादुर मगरले बागवानी केन्द्रलाई जिल्ला ज्ञान केन्द्रमा राख्ने सरकरको निर्णयको विरोध गरे । सांसद सर्वध्वज साँवाले जोडजाडे सरकारकारले फोडफाडे काम मात्र गरेको भन्दै व्यंग्य गरे । सांसद सरिता थापाले बलात्कारीलाई फाँसीको सजाय दिन माग गरिन् ।

आजको प्रदेशसभा बैठकमा प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८’ माथिको सैद्धान्तिक छलफल भएको छ । प्रदेशसभाको अर्को बैठक भोली दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ ।

आइतबार, १५ फागुन, २०७८, साँझको ०५:०१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर