विराटनगर । प्रदेश एकको आर्थिक समृद्धिका लागि आयोजना गरिएका बाह्रखरी गल्फ, इकोनोमिक समिट र योङ आन्टरप्रिनुअर्स कन्क्लेभको तयारी पूरा भएको छ ।
शुक्रबार बिहान धरानस्थित गल्फ कोर्समा प्रधान सेनापति प्रभुराम शर्माले पाँचौँ कर्पोरेट गल्फ प्रतियोगिताको उद्घाटन गर्नेछन् । शुक्रबार अपराह्न इटहरीमा योङ आन्टरप्रिनुअर्स कन्क्लेभ हुँदैछ । जसको पनि सम्पूर्ण तयारी पूरा भइसकेको छ ।
योङ आन्टरप्रिनुअर्स मिट २०२२ मा युवा उद्यमीका समस्या, यस क्षेत्रमा उदाउँदै गरेका युवाहरूको योजना लगायतका विषयमा छलफल हुनेछ । उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारी, लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक निरञ्जन श्रेष्ठ, प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन, आईएमईका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमन पोखरेल, उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेललगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।
त्यस्तैगरी शनिबार बिहान बाह्रखरी मिडिया र उद्योग संगठन मोरङको सहकार्यमा इकोनोमिक समिट आयोजना गरिएको छ । इकोनोमिक समिटमा प्रदेश एकको समृद्धिको मार्गचित्रसहितका कार्यपत्र प्रस्तुत गरिने छ । इकोनोमिक समिटमा संघीय अर्थमन्त्री जनार्दन शर्मा, प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई, प्रदेश सरकारका मन्त्रीहरु, विराटनगर महानगरकापालिका मेयर, संघीय राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेल, राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारी, संघीय अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी, नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवाल, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठलगायत प्रतिष्ठित उद्योगी व्यवसायी, प्रमुख राष्ट्रिय मिडियाका प्रधान सम्पादक, युवा उद्यमी, पत्रकार, गल्फ खेलाडीलगायत सहभागी हुनुहुनेछ ।
शनिबार बिहान विराटनगरस्थित उद्योग संगठन मोरङको सभाहलमा हुन लागेको कार्यक्रमको सम्पूर्ण तयारी प्ूरा भएको अध्यक्ष सुयश प्याकुरेलले जानकारी दिए । ‘शनिबार बिहान इकोनोमिक समिटको सम्पूर्ण तयारी पूरा भएको छ,’ उनले भने, ‘हाम्रो कार्यक्रममा विशिष्ट पाहुनाहरुको सहभागिता रहनेछ । करिब तीन सय पाहुनालाई इकोनोमिक समिटमा स्वागत गर्न हामी आतुर छौँ ।’
बाह्रखरी मिडियाका प्रधान सम्पादक प्रतीक प्रधानले प्रदेश १ को आर्थिक समृद्धिका लागि आयोजना गरिएका बाह्रखरी गल्फ, योङ आन्टरप्रिनुर्स कन्क्लेभ र इकोनोमिक समिटको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । ‘हाम्रो सम्पूर्ण तयारी पूरा भएको छ,’ उनले भने, ‘शुक्रबार बिहान गल्फको उद्घाटनका लागि प्रधान सेनापति प्रभुराम शर्मा बेलुकासम्म इटहरी आइपुग्नुहुनेछ । इकोनोमिक समिटमा सहभागिताका लागि अर्थमन्त्री जनार्दन शर्मा, योजना आयोगका उपाध्यक्षलगायतका विशिष्ठ अतिथिहरु शुक्रबारसम्म विराटनगर आइपुग्नुहुनेछ ।’
गभर्नर अधिकारी भने बिहीबार बेलुका नै विराटनगर आइपुग्नेछन् ।
बिहीबारदेखि नै काठमाडौंबाट गल्फर, उद्योगी, व्यवसायीलगायतका पाहुना विराटनगर आइरहेका छन् । गल्फ खेलको माध्यमबाट आर्थिक र सामाजिक सचेतना अभिवृद्धि गराउन देशको फरक फरक स्थानमा कर्पोरेट गल्फ गर्दै आएको बाह्रखरी मिडियाले यो वर्षको एनसेल बाह्रखरी गल्फ प्रतियोगिता धरान, सुनसरीमा शुक्रबारदेखि आयोजना गरिएको बाह्रखरी मिडियाका प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्यले जानकारी दिए ।
शुक्रबारदेखि हुने प्रतियोगितामा धरान, काठमाडौं, पोखरा, विराटनगर, वीरगञ्ज, चितवन, भैरहवा, नेपालगञ्ज र धनगढीका कर्पोरेट लिडर तथा गल्फ खेलाडीले प्रतिस्पर्धा गर्ने आचार्यले जानकारी दिए ।
धरानमा हुने गल्फमा सय बढी कर्पोरेट गल्फरले १८ होलमा स्टेबल फोर्ड फम्र्याटमा प्रतिस्पर्धा गर्ने आचार्यले जानकारी दिए । प्रतियोगिताका अल–राउण्ड विजयीले सुनको गल्फ बल अर्थात् बाह्रखरी गोल्डेन बल पुरस्कारस्वरुप प्राप्त गर्नेछन् । साथै अन्य विजयीले ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै होल इन वन गर्ने खेलाडीलाई हुन्ड्याई ग्रान्ड आइटेन नियोस उपहार राखिएको छ ।
योङ आन्टरप्रिनुअर्स कन्क्लेभ र इकोनोमिक समिटअघि यस प्रदेशका महत्वपूर्ण क्षेत्र उदयपुर, धनकुटा, इलाम र झापामा यस क्षेत्रका समस्या, आवश्यकता र नीतिगत सुधारसहित समग्र प्रदेशको समृद्धिका विषयहरूमा राउन्ड टेबल गरिएको थियो ।
गल्फ प्रतियोगितामा गल्फ खेलाडीसहित करिब पाँच सय पाहुना धरानमा सम्मिलित हुने बताइएको छ । एनसेल बाह्रखरी गल्फमा प्रदेश एक सरकार, उद्योग संगठन मोरङ, विराटनगर महानगरपालिका, इटहरी उपमहानगरपालिका, धरान उपमहानगरपालिका, नेपाल पर्यटन बोर्ड, प्रभु बैंक, द ग्लेन लिभेट सिङ्गल मल्ट, गोर्खा बु्रअरी, आइएमई, भाटभटेनी सुपरमार्केट, हुन्ड्याइ मोटर्स, शिखर इन्स्योरेन्स, बीएमडब्ल्यू र डिशहोम फाइबरनेटको सहयोग रहेको आचार्यले बताए ।

