स्वास्थ्य बिमा बोर्डले कोशी अस्पताललाई १७ करोड भुक्तानी गर्न बाँकी, सेवा प्रवाह प्रभावित

समयमा रकम निकासा नहुँदा औषधि खरिददेखि ठूला औषधि वितरकलाई रकम भुक्तानी दिन समस्या

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालले स्वास्थ्य बीमा बापतको ठूलो रकम सरकारले निकास नगर्दा सेवा प्रवाहमा समस्या भएको छ ।

नौ महिनादेखि स्वास्थ्य बीमामार्फत उपचार गरेबापत स्वास्थ्य बीमा बोर्डले कोशी अस्पताललाई १७ करोड रुपैयाँ भन्दा बढी रकम भुक्तानी गर्न बाँकी छ । जसका कारण सेवा प्रवाहमा समस्या भएको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पतालले स्वास्थ्य बीमा मार्फत उपचार गरेको विरामीको चालु आर्थिक वर्षको असार मसान्तदेखि माघ २३ गतेसम्म १७ करोड रूपैयाँ स्वास्थ्य बीमा बोर्डदेखि पाउन बाँकी रहेको अस्पतालका लेखा प्रमुख राजेन्द्र सुवेदीले जानकारी दिए ।

उनका अनुसार असार मसान्तसम्म ४ करोड ३० लाख ९५ हजार ९ सय ११ रुपैयाँ स्वास्थ्य बीमा वापतको कोशीमा उपचार र औषधीको भुक्तानी स्वास्थ्य बीमा बोर्डबाट आउन बाँकी छ । यस्तै चालु आर्थिक वर्षको साउनदेखि माघ २३ गतेसम्म सिस्टम भित्रको दाबी गरिएको २ करोड ६५ लाख ९१ हजार १ सय २७८ रुपैयाँ अस्पतालले पाउन बाँकी रहेको छ ।

साउनदेखि २३ माघसम्म दाबी गरिएको मध्ये स्वीकृत भएको ८५ लाख ६५ हजार १ सय ६८ रुपैयाँ पनि स्वास्थ्य बीमा बोर्डले रोकेर राखिदिएको अस्पतालले जनाएको छ । स्वास्थ्य बीमामार्फत अस्पतालले बिरामीलाई दिएको ४ करोड ५७ लाख ४२ हजार ४ सय ५० रुपैयाँको औषधी बापतको रकम पनि बोर्डबाट आउन बाँकी रहेको लेखा प्रमुख सुवेदीले जानकारी दिए । ल्याब, चिकित्सक शुल्क र सेवाप्रवाहको ५ करोड ४१ लाख ३२ हजार ९ सय ३१ रुपैयाँ पनि स्वास्थ्य बीमा बोर्डले दिनुपर्ने देखिएको छ ।

स्वास्थ्य बीमा अन्तर्गतको ठूलो रकम निकासा नहुँदा कोशी अस्पतालको सेवा प्रवाहमा समस्या भएको अस्पतालका सुपरिन्टेण्डेण्ट डा. यज्ञराज खरेलले जानकारी दिए । अस्पतालले उपचार गरेवापत स्वास्थ्य बीमा बोर्डबाट पाउनुपर्ने रकम समयमै नपाउँदा विकास समितिका स्वास्थ्यकर्मी, कर्मचारी, औषधी खरिद गर्न र अवकाश प्राप्त सरकारी कर्मचारीलाई औषधी र उपदान रकम दिन नसकिएको मेसु खरेलले बताए ।

अस्पतालबाट अवकास पाएका १७ जना कर्मचारी छन् । ‘स्वास्थ्य बीमामार्फत उपचार गरिएको रकम निकास गरिदिन हामीले पटक–पटक स्वास्थ्य बीमा बोर्डमा परिपत्र गरिसक्यौं । तर, अहिलेसम्म निकास भएर स्वास्थ्य बीमाको रकम आउन सकेको छैन,’ मेसु खरेलले भने ।

समयमा निकासा नहुँदा औषधि खरिददेखि ठूला औषधि वितरकलाई रकम भुक्तानी दिन नसकिएको उनले बताए । बोर्डले समयमा स्वास्थ्य बीमाको रकम निकासा नगर्दा अस्पतालले कार्यक्रम अन्तर्गतको औषधि खरिद गर्न सकेको छैन । जसले गर्दा स्वास्थ्य बीमा गरेका बिरामीलाई समस्या भएको छ । स्वास्थ्य बीमाको रकम निकास भएर नआउँदा विकास समितिबाट नियुक्ति गरिएको २ सय ६७ जना कर्मचारीले तीन महिनादेखि तलब नपाएको अस्पतालले जनाएको छ । उनीहरूको तीन महिनाको तलब करिब ४ करोड हुन आउने अस्पतालको लेखा प्रमुख सुवेदीले बताए । बीमाको रकम नआउँदा स्वास्थ्यकर्मीले जोखिम भत्ता पनि नपाएको अस्पतालले जनाएको छ ।

अस्पतालबाट बिमितले बहिरंग तथा अन्तरंग सेवा, शल्यक्रिया, प्रसूति, फार्मेसी, ल्याब, फिजियोथेरापी, एक्सरेलगायतको सेवा लिँदै आएका छन् । सरकारले समयमै स्वास्थ्य बीमाको रकम उपलब्ध नगराए बाध्य भएर अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गतका सेवा तत्कालका लागि बन्द गरिनुपर्ने अवस्था सृजना हुनसक्ने अस्पतलले जनाएको छ ।

अस्पतालले उधारोमा औषधि ल्याएर बिरामीलाई वितरण गरिरहेको र समयमै स्वास्थ्यबीमा मार्फत पाउनुपर्ने रकम निकास गरि सरकारले नपठाए स्वास्थ्य बिमा कार्यक्रम अन्र्गगतका सेवाहरु बन्द गरिनुपर्ने अवस्था सिर्जना हुने बताइएको छ ।

स्वास्थ्य बीमा कार्यक्रमले सर्वसाधारणको उपचार सहज भएपनि औषधिको लागि अस्पतालले लगानी गर्न सक्ने अवस्था नभएको अस्पतालका प्रवक्ता डा. लक्ष्मीनारायण यादवले बताए । उनले बोर्डमा पटकपटक रकम निकासाको लागि पहल भएको बताए । ‘रकम पठाइदिन्छौं भन्ने खबर आउँछ । तर, फेरि रोकिन्छ । अस्पताल आफैले औषधिका लागि ठूलो रकम खर्च गर्न सक्ने अवस्थापनि छैन’, उनले भने, ‘समयमा रकम भुक्तानी भए बिरामीलाई सहज हुने थियो ।’ निजी अस्पताललाई भने बोर्डले बीमाको रकम समयमै भुक्तानी गर्ने गरेको बुझिएको छ ।

अस्पतालमा गएको साउनदेखि हालसम्म स्वास्थ्यबीमा कार्डमार्फत ६७ हजारले बिरामीले सेवा लिएका छन् । जसमा मासिक करिब पाँच हजार भन्दा बढी र दैनिक पाँच सयको संख्यामा बिरामी लाभान्वित भएको अस्पतालले जनाएको छ । कोशी अस्पतालमा २०७४ साल माघबाट स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको हो ।

नेपालमा ४२ लाख २२ हजार ६ सय ११ जना बिमा कार्यक्रममा समाहित छन् भने प्रदेश १ मा १३ लाख ७५ हजार ६ सय ८२ जनाले बिमा गराएका छन् । प्रदेश १ मा ९८ वटा अस्पतालबाट बिमितहरुले सेवा पाउँछन् । सरकारी ७२, नीजि २१ र सामुदायीक पाँच वटा अस्पतालबाट उपचार सेवा पाएका छन् । स्वास्थ्य बीमा कार्यक्रम सुरू भएपछि आर्थिक विपन्न परिवारको लागि राहत मिलेको छ ।

बुधबार, ११ फागुन, २०७८, साँझको ०६:५० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर