प्रजातन्त्र दिवसमा विराटनगर : मुख्यमन्त्रीद्वारा फलफूल वितरण, कानूनमन्त्रीद्वारा श्रमदान

विराटनगर । १०४ वर्ष लामो निरङ्कुश राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा शनिबार विराटनगरमा पनि विभिन्न कार्यक्रम गरिएको छ ।

दिवसको अवसरमा प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र कुमार राईले विराटनगरमा रहेको मानव सेवा आश्रममा फलफूल वितरण गरेका छन् । आश्रममा अनाथ, बेसहारा, सडक मानवहरूलाई मुख्यमन्त्री कार्यालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, जिल्ला प्रशासन कार्यालय मोरङ, आधिकारिक ट्रेड युनियन लगायतले फलफूल वितरण गरेको हो ।

वितरण कार्यक्रममा मुख्यमन्त्री राजेन्द्र कुमार राईले सरकारले बेसहारा मानवको सेवा गर्नु धर्म गर्नु सोसरह रहेको उल्लेख गर्दै सरकार बेसहारा नागरिकको जीवन रक्षा गर्न लागि परेको बताए ।

यस्तै प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले श्रमदान गरी मनाएका छन् । विराटनगरमा निर्माणाधीन सम्पन्न बस्ती महानगर आवास परियोजनामा उनले श्रमदान गरेका हुन् ।

जनताका आधारभूत आवश्यकता गाँस, बास र कपासलाई सुनिश्चित गर्ने सन्देशका रूपमा दिवस मनाएको उनले बताए । ‘आजको दिनलाई हामीले उत्सवका रूपमा मनाउँछौँ, तर पनि नागरिकका गाँस, बास, कपास, आर्थिक स्वतन्त्रता, मानवअधिकारको रक्षा गर्नलाई पनि सरकारको ध्यान जानुपर्छ र त्यसै अनुसार दिवस फरक ढङ्गले मनाएको हुँ,’ कार्कीले भने । सरकार जनतासँग प्रत्यक्ष सम्पर्कमा रहनुपर्ने उल्लेख गर्दै उनले जनताका हरेक काम गर्ने उनको भनाइ छ । सम्पन्न बस्तीमा एक सय ४५ घर निर्माणाधीन अवस्थामा छन् ।

शनिबार, ०७ फागुन, २०७८, साँझको ०५:३० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर