विराटनगर । काव्यारोहण, आरोहण कविता यात्राको आठौं अनुक्रममा कवि सुमन पोखरेलले आफ्ना डेढ दर्जन कविता सुनाएका छन् ।
आरोहण गुरुकुलको सुशीला कोइराला नाटकघरमा शनिबार भएको कार्यक्रममा पोखरेलले विष्मयाधिबोधक, आकाशबाट, हरेक बिहान, खोरम्पा, तिमी जसरी छ्यौ, क्षितिजको रङ्ग लगायत १८ वटा कविता वाचन गरेका हुन् ।
आरोहण–गुरुकुल विराटनगरले २०७७ मंसिरबाट महिनाको पहिलो शनिबार कविता यात्रा गर्दै आएको छ । केहि महिनाका कार्यक्रम कोरोना महामारीले प्रभावित गरेपछि दुई महिनाअघिदेखि पुनः सुरु गरिएको आरोहण, विराटनगरका अध्यक्ष भैरव क्षेत्रीले बताए ।
यसपटक कवि, गीतकार, नाटककार, अनुवादक तथा कलाकारका रुपमा स्थापित पोखरेललाई काव्यारोहणको आठौं अनुक्रममा निम्त्याइएको कार्यक्रमका संयोजक धीरज राईको भनाइ छ । कविता वाचनपछि कवि पोखरेललाई प्राज्ञ विवश पोखरेलले दोसल्ला ओढाएर सम्मान गरेका थिए भने अध्यक्ष क्षेत्रीले आरोहण काव्य–सम्मान प्रदान गरेका थिए । वि.सं. २०२४ सालमा विराटनगरमा जन्मिएका पोखरेलले नेपालीका अतिरिक्त अग्रेजी, मैथिली, हिन्दी, संस्कृत, उर्दु र बंगाली भाषामा कलम चलाएका छन् ।
उनका दर्जनौं रचना विभिन्न देशबाट प्रकाशित समेत भएका छन् । काव्यारोहणमा यसअघि वैरागी काइँला, तुलसी दिवस, बम देवान, मोमिला, मनप्रसाद सुब्बा, तीर्थ श्रेष्ठ र कुन्ता शर्मा प्रस्तुत भइसकेका छन् । काव्यारोहणमा टिकट काटेर कविता सुन्न विराटनगरसहित पूर्वी नेपालका विभिन्न क्षेत्रबाट मानिसहरु आउने गरेका छन् ।