प्रदेश १ नामाकरण गर्न सर्बदलीय बैठक आव्हान

सत्तारुढ पाँच दलीय गठबन्धनका तर्फबाट सर्वसम्मतीले प्रदेश नं. १ को नाम प्रस्ताव गर्ने प्रारम्भिक सहमति

विराटनगर । प्रदेश सरकारले प्रदेशको नामाकरण गर्न दलहरुसँग छलफल गर्ने भएको छ । छलफलका लागि प्रदेश सरकारले फागुन १० गते सर्वदलीय बैठक आव्हान गरेको छ ।

प्रदेशको नामकरणका लागि समन्वय तथा सहजीकरण गर्न यसअघि प्रदेश सरकारले गठन गरेको स्वास्थ्य मन्त्री जयराम यादव नेतृत्वको समन्वय समितिले सर्वदलीय बैठकको आव्हान गरेको हो ।

सरकारले नामाकरणका लागि छलफल र समन्वय गर्न तत्कालीन सामाजिक विकास मन्त्री जयराम यादवलाई जिम्मेवारी दिएको थियो । बिहीबार मुख्यमन्त्री राजेन्द्र राईसमेतको उपस्थितिमा सत्ता गठबन्धनमा आवद्ध राजनीतिक दलका नेताहरु र सरकारका मन्त्रीहरुको बैठक बसेर नामाकरणका लागि प्रकृया अगाडि बढाउने र फागुन १० गते सर्वदलीय बैठक सहमति गरेको थियो ।

बैठकमा नेपाली कांग्रेसका तर्फबाट संसदीय दलका उपनेता एवं सडक, पूर्वाधार तथा शहरी विकास मन्त्री हिमाल कार्की, नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता एवं आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बो र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी संसदीय दलका नेता तथा सामाजिक विकास राज्यमन्त्री विष्णु तुम्बाहाम्फे सहभागी थिए ।

बैठकले सत्तारुढ पाँच दलीय गठबन्धनका तर्फबाट सर्वसम्मतीले प्रदेश नं. १ को नाम प्रस्ताव गर्ने प्रारम्भिक सहमति गरेको स्वास्थ्य मन्त्री तथा प्रदेशको नामकरणका लागि गठित समन्वय तथा सहजीकरण समितिका संयोजक जयराम यादवले जानकारी दिए ।

मन्त्री यादवले प्रदेश नं. १ को नामकरण सम्बन्धमा फागुन १० गते प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितको सर्वदलीय बैठक डाकिएको जानकारी दिए । बैठकमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका संसदीय दलका नेता, तिनै दलहरूका प्रदेश कमिटी अध्यक्ष वा प्रमुख र सरकारका सबै मन्त्रीहरू सहभागी हुने मन्त्री यादवले बताए । बैठक फागुन १० गते दिउँसो १२ः१५ बजेका लागि बोलाइएको छ ।

बिहिबार, ०५ फागुन, २०७८, रातीको ०८:१७ बजे

प्रतिक्रिया

प्रतिक्रिया:

सम्बन्धित खवर