विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले राजनीतिक र व्यवहारिक कारणले प्रदेश सरकारको मन्त्रीमण्डल विस्तार र मन्त्रालय विभाजन गरेको स्पष्टीकरण दिएका छन् ।
समाजवादी प्रेस संगठन नेपाल प्रदेश १ को विराटनगरमा आज आयोजित पहिलो भेलालाई सम्बोधन गर्दै राईले यस्तो बताएका हुन् । उनले आफ्नो पार्टीमा र गठबन्धनमा शान्ति स्थापना नभई काम अगाडि बढाउन पनि सरकारले नसक्ने बताए ।
‘राजनीतिक हिसावले सही व्यवस्थापन नहुँदा विगतमा १२÷१५ वर्ष देश युद्धमा गएको होइन ?,’ उनले भने, ‘अहिले त झन् आफ्नो पार्टीमा र गठबन्धनमै शान्ति स्थापना नगरी कसरी काम अगाडि बढाउन सकिन्छ ? ।’
राईले राजनीतिक आवश्यकतालाई सम्बोधन गर्न नसकेर केही संख्या नबढाएको भए अहिलेसम्म पनि मन्त्रीमण्डल विस्तार हुन नसक्ने अवस्था रहेको स्मरण गराए । ‘राजनीतिक आवश्यकतालाई सम्बोधन नगरेर केही मन्त्रीको संख्या नबढाएको भए अहिलेसम्म पनि मन्त्रीमण्डल विस्तार हुने थिएन । मैले एउटा बाटो रोज्नु पर्यो,’ उनले भने, ‘के म ६ महिनासम्म मन्त्रीमण्डल विस्तार नगरी बस्न सक्छु ? तपाईहरुको सुन्दर कुरा सुनेर त हुँदैन थियो । त्यस अवस्थामा प्रदेश सरकारले कुनै पनि काम गर्न सक्ने अवस्था पनि हुँदैन थियो । त्यसकारण मैले एउटा कुरा रोजेको हो, यसलाई लुकाउनु पर्ने कुनै कारण छैन ।’
मुख्यमन्त्री राईले मन्त्रालय विभाजनले कति खर्च बढाउँछ भन्ने विषयमा हिसाव किताब नगर्ने पनि बताए । ‘प्रदेश मन्त्रीमण्डल बढाउँदा कति हिसाव बढ्छ भनेर हिसाव चाहिं कसैले गरेको छैन, यत्रो प्रदेश सरकार चलाउने कुरामा २÷४ रुपैयाँ खर्चको हिसाव गरेर बस्नु पनि हुँदैन,’ राईले भने, ‘यसले ४ रुपैयाँ खर्च गर्छ यसले २० रुपैयाँको काम गर्छ । अहिले यातायात व्यवस्था मन्त्रालयले हिंजो ३ अर्ब राजस्व संकलन गर्दैथियो अब ६ अर्ब उठाउँछ । त्यसो भएकोले यो कुरा व्यवहारको कुरा हो ।’
हिंजोका प्रदेश सरकासँग काम गर्ने कुनै इच्छाशक्ति र सोचाई नभएका कारण मन्त्रीमण्डल विस्तार गर्न नसकेको बताउँदै राईले भने, ‘मैले पनि त्यसैलाई निरन्तरता दिने त ? ।’ ‘भौतिक मन्त्रालयमा विकास बजेको आधा भन्दा बढी पैसा जान्थ्यो । जहाँ सडकको, भवनको, खेल मैदान बनाउने, खानेपानी सिंचाई, उर्जा यतिका काम एकैठाउँमा खाप्जे पार्दा खेरी छुट्याएको बजेट सम्पन्न गर्नका लागि सम्बन्धीत निकायलाई अप्ठ्यारो थियो,’ उनले थपे, ‘भगवानको पालामा त विष्णु, ब्रम्हा, सरस्वतीको छुट्टाछुट्टै काम हुन्थ्यो भने हामी मान्छेले त झन् कसरी सक्छौं ।’
सामाजिकको काम, महिलाको काम बालबालिकाको काम, स्वास्थ्यको काम एउटै मन्त्रालयबाट सम्भव नभएका कारण कामको विशेषता अनुसार जिम्मेवारी दिन पनि केही मन्त्रालय विभाजन गरेको उनको दाबी थियो ।
सोही कार्यक्रममा बोल्दै यातायात तथा संचारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले यातायात कार्यालय र संचारसँग सम्बन्धीत क्षेत्रलाई व्यवस्थित गर्ने तयारी भइरहेको बताए । उनले यातायात कार्यालयबाट अहिले प्रदेश सरकारलाई २ अर्ब ४४ करोड बढी राजस्व प्राप्त भइरहेको बताउँदै आगामि दिनमा उक्त राजस्वलाई दोब्बर पार्ने गरी छलफल अगाडि बढेको बताए ।
‘मन्त्रालय फुटाएर खर्च बढी भयो भन्ने विषयमा जे कल्पना गरेका थियौं । त्यो होइन रहेछ, यातायात कार्यालयले अहिले २ अर्ब ४४ करोड राजस्व उठाउँदो रहेछ,’ मन्त्री घिमिरेले भने, ‘आगामि आर्थिक वर्षमा यसलाई दोब्बर बनाउने काम गर्छौं । यातायात कार्यालयमा यसअघिको प्रदेश सरकारले लोभी, पापीलाई बोकेर सिण्डिकेट चलाएको आफूले पाएको उनको भनाइ छ । ‘यसअघिको सरकारले लोभ, पाप, मोह, क्रोध मात्रै देखायो । बा प्रवृत्ती र बाले भनेपछि भगवानले आशिर्वाद दिएजस्तो गर्न थालेपछि हामीले विद्रोह गर्यौं,’ उनले पार्टी विभाजन गरेको विषयलाई प्रष्ट पार्दै भने ।