प्रदेश १ : कुन मन्त्रालय कहाँ ?

विराटनगर । प्रदेश १ को सात सदस्यीय मन्त्रीमण्डल विस्तार भएर १३ सदस्यीय बनेपछि पहिलेकै मन्त्रालयहरु भएका भवन र केही नयाँ स्थानमा मन्त्रालय कायम भएको छ ।

अहिलेको मन्त्रीपरिषद विस्तारमा फुटेको मन्त्रालय हो साविकको सामाजिक विकास मन्त्रालय । कार्यविभाजनमा सामाजिक विकास मन्त्री बनेका राजन राईको कार्यकक्ष सोही मन्त्रालयको भूइँतलामा कायम भएको छ । स्वास्थ्यमन्त्री जयराम यादवले यसअघि सामाजिक विकास मन्त्रीकै कार्यकक्षमा पदभार ग्रहण गरेका छन् । सामाजिक विकास राज्यमन्त्री विष्णुमाया तुम्बाहाम्फेको कार्यकक्ष मन्त्रालयको सबैभन्दा माथिल्लो तलमा राखिएको छ ।

खानेपानी मन्त्री रामकुमार राईको कार्यकक्ष साविकको पूर्वाधार मन्त्रालयको तेस्रो तलामा राखिएको छ भने सडक पूर्वाधार मन्त्री हिमाल कार्की यसअघिकै कार्यकक्षमा रहेका छन् । यसअघिको वन, पर्यटन मन्त्रालयको दुई भवनमध्ये एउटामा वनमन्त्री शेखरचन्द्र थापा र पर्यटनमन्त्री खिनु लङ्वा लिम्बुले नेतृत्व गरेको मन्त्रालय रहनेछन् ।

यसअघिको कृषिमन्त्री झलकबहादुर दर्लामीको कृषि मन्त्रालयमा कृषि मन्त्रालयसहित अर्को मन्त्रालय पनि रहने भएको छ । ओमप्रकाश सरावगीले नेतृत्व गरेको भूमि व्यवस्था, सहकारी मन्त्रालय पनि सोही परिसरमा रहनेछ । नवगठित सञ्चार मन्त्रालयका मन्त्री उपेन्द्र घिमिरेले प्रदेश योजना आयोगको कार्यालयमा पदभार ग्रहण गरेका छन् । उद्योगमन्त्री प्रतापप्रकाश हाङ्गामको मन्त्रालय मत्स्य विकास निर्देशनालयमा रहेको छ । उनले सोही भवनमा पदभार ग्रहण गरेका छन् ।

आइतबार, २३ माघ, २०७८, रातीको ०८:१२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर