लोड हुँदैछ...

मेनु

प्रदेश १ मन्त्रीमण्डल विस्तार : को बन्दैछन् नयाँ मन्त्री ? कुन मन्त्रालय कसको भागमा ?

प्रदेश १ मन्त्रीमण्डल विस्तार : को बन्दैछन् नयाँ मन्त्री ? कुन मन्त्रालय कसको भागमा ?

विराटनगर । प्रदेश नम्बर १ को मन्त्रिमण्डल आज विस्तार हुँदैछ । यसअघि भएको ७ सदस्यीय मन्त्रिमण्डललाई अब १३ सदस्यीय बनाउन लागिएको हो । मुख्यमन्त्री राजेन्द्र राईले आज दिउँसो सम्ममा मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् ।

सात मन्त्रालय रहेको प्रदेश १ मा अब मन्त्रालय नै १३ वटा बनाइएको छ। प्रदेश १ मा नेपाली कांग्रेसबाट ५, नेकपा (एकीकृत समाजवादी) बाट मुख्यमन्त्रीसहित ४, नेकपा माओवादी केन्द्रबाट ३, जसपाबाट १ र संघीय लोकतान्त्रिक मञ्चबाट एक जना राज्य मन्त्री गरेर १४ सदस्यीय हुन लागेको हो ।

संघीय लोकतान्त्रिक मञ्चलाई यसअघि नै राज्यमन्त्री दिइएको थियो। साथै यसअघि कांग्रेसले २ मन्त्री पाएकोमा आज ३ जना थप हुन लागेका छन्।

मुख्यमन्त्री राईले मन्त्रिपरिषद विस्तार गर्ने र नियुक्त हुने मन्त्रीहरूले आज ११ बजे सपथ लिने कार्यक्रम रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय स्रोतले बताएको छ। गत कात्तिक १६ मा राई मुख्यमन्त्री नियुक्त भएका थिए।

नयाँ हुने मन्त्रीमण्डलमा नेपाली कांग्रेसबाट मोरङका शेखरचन्द्र थापा, झापाका ओम सरावगी र ताप्लेजुङका प्रताप प्रकाश हाङमाङ समावेश हुँदैछन् । थापालाई वन, वातावरण तथा भूसंरक्षण मन्त्रालय, सरावगीलाई उद्योग, श्रम तथा रोजगार मन्त्रालय र हाङ्गामलाई भूमि तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिन लागेको मुख्यमन्त्री कार्यालयनिकट स्रोतले जनाएको छ ।

यस्तै नेकपा (माओवादी केन्द्र)बाट खोटाङका रामकुमार राई (पासाङ) र झापाका झलकसिं दर्लामी मन्त्री बन्दैछन् । राईलाई सिँचाई, खानेपानी तथा उर्जामन्त्रालय र दर्लामीलाई कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको जिम्मेवारी दिइने भएको छ ।

यस्तै नेकपा (एकीकृत समाजवादी)बाट मोरङका उपेन्द्र घिमिरे, खोटाङका राजन राई र इलामकी खिनु लङ्वा लिम्बू मन्त्री बन्ने निश्चित भएको छ । जसमध्ये खोटाङका राईलाई सामाजिक विकास मन्त्रालय र लिम्बूलाई पर्यटन तथा संस्कृति मन्त्रालयको जिम्मेवारी दिइने भएको छ । घिमिरेलाई भने थप एक मन्त्रालय विस्तार गर्दै सञ्चार तथा सहकारीमन्त्रालयको जिम्मेवारी ठोस गरिएको स्रोतको दाबी छ ।

यसअघि नियुक्त आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो र आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीको जिम्मेवारी यथावत राखिएको छ भने सामाजिक विकासमन्त्री रहेको जयराम यादवलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइने भएको छ । यस्तै भौतिक पूर्वाधार विकास मन्त्री रहेका हिमाल कार्कीले सडक, पूर्वाधार तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी नेतृ विष्णुमाया तुम्बाहाम्फे भने यस पटक पनि राज्यमन्त्री कै हैसियतमा रहनेछिन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।