काठमाडौं । काठमाडौं महानगरपालिका–६ बौद्धस्थित प्लटिङमा रहेको एक रेष्टुरेण्टमा प्रहरीले छापा मारेर अनलाइन जुवा ‘बिङ्गो’ खेल्ने ७४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिङ्गो सञ्चालक वीरेन्द्र मानन्धर छन् । काठमाडौं महानगरपालिका–६ घर भएका मानन्धर मोवाइलमा बिङ्गो एप्स डाउनलोड गरेर खेलिने सो अनलाइन जुवाका मेनेजर हुन् । मुख्य सञ्चालकचाहिँ फरार छन् ।
मानन्धर सहित रेष्टुरेण्टमा बसेर खेल्ने ७४ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत बौद्धका डिएसपी ढुण्डीराज न्यौपानेले रातोपाटीलाई बताए । रेष्टुरेण्टका सञ्चालक सुवास घिसिङ हुन् । कोभिड–१९ प्रोटोकल वेवास्ता गरेर रेष्टुरेन्टमा ७४ जनालाई प्रवेश अनुमति दिने उनीचाहिँ फरार छन् ।
जुवा खेलाडीहरुलाई बिङ्गो एप्समार्फत वीरेन्द्र मानन्धरले अपरेट गरेको सुराकको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त बौद्धको टोली सो रेष्टुरेण्टमा पुगेको थियो । बिङ्गो खेल्नुअघि १५ वटा नम्बर भएको टिकट काट्नुपर्छ । बिजेतालाई खेलाउने व्यक्तिले निश्चित रकम पुरस्कार दिन्छन् ।
बिजेताले कति पुरस्कार पाउँछन् भन्ने पहिले नै तोकिएको हुन्छ । बिङ्गो खेल्ने र खेलाउनेलाई जुवा ऐनअनुसार जिल्ला प्रशासन कार्यालयबाट म्याद लिएर थप अनुसन्धान गरिने महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।