कोशी अस्पतालमा फोहोरबाट बायो ग्याँस उत्पादन सुरु

विराटनगर । खेर जाने फोहरको उचित व्यवस्थापन गर्दै विराटनगरस्थित कोशी अस्पतालले बायो ग्याँस उत्पादन सुरू गरेको छ । अस्पतालबाट निस्किने फोहरको उचित व्यवस्थापन गर्दै अस्पतालले बायो ग्याँस उत्पादन सुरु गरेको हो ।

अस्पताल परिसरभित्र छुट्टै व्यवस्थित रूपमा प्लान्ट निर्माण गरेर अहिले बायो ग्याँस उत्पादन सुरु गरिएको अस्पतालकी फोहर मैला व्यवस्थापन संयोजक नर्सिङ अधिृकत सोनी सुवेदीले जानकारी दिइन् । अस्पतालबाट दैनिक निस्किने फोहर खाना, डेलिभेरी भएर गर्भवती महिलाले बच्चा जन्माउँदा निस्किने सालनाललगायतका फोहर प्रशोधन गरेर बायो ग्याँस उत्पादन सुरु गरिएको उनले बताइन् ।

‘अस्पतालबाट दैनिकजसो निस्किने फोहरजन्य वस्तुहरू जथाभावी फाल्ने गरिएको थियो । अस्पतालबाट निस्किने फोहरको उचित व्यवस्थापन गर्ने योजना बनेपछि अहिले सम्पूर्ण फोहोर भण्डारण गरि राख्ने गरिएको छ । फोहोरबाट अहिले बायो ग्याँस बनाउन सुरु गरिएको छ,’ संयोजक सुवेदीले भनिन् । अस्पतालको उत्तरपट्टीको खाली जमिनमा बायो ग्याँस प्लान्ट निर्माण गरिएको छ । अस्पतालबाट निस्किने फोहर प्रसोधन गरिने आउटलेट ६ घनमिटर क्षमताको छ ।

‘अस्पतालबाट निस्किने सालनाल राख्ने छुट्टै ठाउँ रहेको छ । सालनालसहितको फोहर इन्लेटमा राखेर बायो ग्याँसको लागि प्रशोधन गर्ने ठाउँमा पठाइने गरेको छ,’ उनले भनिन् । अस्पतालले निकालेको बायो ग्याँसबाट उपकरण र औजारको निर्मलीकरण गर्ने तयारी सुरु गरिएको उनले बताइन् । ‘बायो ग्याँस उत्पादन भएपछि चिकित्सक र स्वास्थ्यकर्मीले विरामीलाई प्रयोग गर्ने औजारको निर्मलीकरण यही बायो ग्याँसबाट गर्ने हामीले तयारी गरेका छौं,’ उनले भनिन्, ‘त्यसको लागि छुट्टै भवन निर्माण भइरहेको छ ।’ एक महिनाभित्रमा फोहोर प्रशोधन गरेर ल्याएको बायो ग्याँस प्रशोधन गरिने छुट्टै एउटा घर निर्माण गरि उपकरणको निर्मलीकरण गर्नुको साथै अन्य विभिन्न कामहरु पनि गर्न सकिने अस्पतालका मेसु डा. चुमनलाल दासले जानकारी दिए ।

‘यसअघि अस्पतालबाट निस्किने फोहोरहरू जथाभावी फाल्ने गरिएको थियो । बायो ग्याँस प्लान्टको तयारी गरेपछि हामीले एउटा पनि अस्पतालबाट निस्किने फोहोर बाहिर लैजान वा फाल्न दिएको छैन,’ मेसु दासले भने, ‘अस्पतालबाट निस्किने फोहोरको उचित व्यवस्थापन गरि बायो ग्याँस उत्पादन गर्न सुरु गरेका छौं ।’ निटक भविष्यमा थप विस्तार गर्दै अगाडि बढ्ने उनले बताए । अस्पतालको पाँच लाख र उर्जा मन्त्रालयको ५ लाख गरि १० लाख लागतमा उक्त बायो ग्याँस प्लान्ट निर्माण भएको हो । उक्त प्लान्ट निर्माणको ठेक्का भगवती गोबर ग्याँसले पाएको थियो ।

मङ्गलबार, ११ माघ, २०७८, साँझको ०७:१४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर