विराटनगर । विराटनगरको पुष्पलालचोकदेखि घिनाघाट, मिलनचोकसम्मको सडक अत्याधिक धूलो र खाल्डाखुल्डीको कारण हिंड्नै नसक्ने अवस्थामा पुगेको छ ।

उक्त सडक निर्माणाधिन छ । विराटनगर भित्रने तथा बाहिरिने वैकल्पिक सडकको रुपमा रहेको विराटचोक–घिनाघाट सडक ४ लेन बनाउने काम भइरहेको छ ।

यो सडक निर्माण प्रदेश १ सरकारको प्रमुख महत्वको हो । २२.५ किलोमिटर लम्बाइ रहेको यो सडक विराटनगर प्रवेश गर्ने कोशी राजमार्गको विकल्पको रुपमा हेरिएको छ । प्रदेश सरकारको १ अर्ब ४० करोडको लगानी सडक बनिरहेको छ । तर, मिलनचोकदेखि पूर्व नेताचोकसम्म सडकको अधिकांश स्थानमा कालोपत्रे गरिएको छ । मिलनचोकदेखि पुष्पलालचोकसम्म भने निर्माणको कामले सडक अस्तव्यस्त बनेको छ ।

२ वर्षमा सक्ने सम्झौता अनुसार उक्त सडक निर्माण २०७८ साल असार मसान्तसम्ममा सकिनुपर्ने हो । तर, कोभिडका कारण सडक निर्माण समयमै सम्पन्न हुन सकेको छैन । वस्ती भएको क्षेत्रमा ६४ मिटर र वस्ती नभएको क्षेत्रमा ५६ मिटर हुने गरी सडकको फराकिलो बनाइँदैछ । उक्त सडक निर्माणको ठेक्का श्रेष्ठ रमण र एपेक्स कम्पनीले संयुक्त रुपमा लिएका हुन् ।