इटहरी । इटहरीको दक्षिणी सिमा क्षेत्रमा पर्ने वडा नम्वर १५ स्थित भोटिया खोला पूल शिलान्यास गरिएको छ । इटहरी उपमहानगरपालिका प्रमुख द्वारिकलाल चौधरीले पूल शिलान्यास गरे ।

चार करोड १६ लाख ४१ हजारको लागतमा दुई वर्षमा सो पुल निर्माण भइसक्ने सम्झौता छ । इटहरी र इनरुवा जोड्ने सो पुल निर्माण पछि स्थानीय अत्यन्तै लाभान्वित हुने उपमहानगरका प्रमुख चौधरीले वताए ।

खेतिपाती गर्न र कृषि उपज बजार पु¥याउनका लागि स्थानीयलाई पुल अतिनै आवश्यक भएकाले उपमहानगरले तीन वर्षको रकम जुटाएर पुल निर्माण थालेको उनको भनाइ छ । उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अघिकृत सूर्य सुवेदीलेले निर्धारित समयमै गुणस्तरीय काम हुनुपर्नेमा जोड दिए । वडा नम्वर १५ का कार्यवाहक वडाध्यक्ष सुवोध नारायण चौधरी र वडा सदस्य अशोक चौधरीले स्थानीयको एउटा ठूलो समस्या समाधान हुन लाग्दा स्थानीय अत्यन्तै हर्षित बनेको बताए ।

इटहरी उपमहानगरपालिकाको पुल निर्माणको यो ठूलो योजना हो । साढे चार वर्षको अवधिमा इटहरीमा ठूला दुईसहित साना ठूला गरि १९ वटा पुल निर्माण भएका छन् । भोटिया खोलासहित दुई वटा ठूला पुल योजना अहिले संचालित छन् ।