विराटनगर । सप्तकोशी डेभलपमेन्ट बैंकको १५ करोड ७५ लाख ४० हजार ५ सय ७५ रुपैयाँ घोटला प्रकरणका अभियुक्त हिमाल भट्टराई धरौटि रकम बुझाउन नसक्दा जेल चलान भएका छन् ।

‘अभद्र व्यवहारको मुद्दा’ मा जिल्ला प्रशासन कार्यालय मोरङले तोकेको ५५ हजार रुपैयाँ धरौटी रकम नबुझाउँदा जेल चलान भएका हुन् । अभद्रमा खुलेको धरौटी रकम बुझाए पनि अर्को बैंकिङ कसुर मुद्दामा पक्राउ गरि पुनः हिरासतमा राखेर प्रहरीले अनुसन्धान गर्ने भएकोले धरौटी रकम बुझाउनुको साटो जेल जाने निर्णय गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालको इजालासले अभद्र व्यवहारको मुद्दामा तोकिएको ५५ हजार रुपैयाँ धरौटी रकम बुझाउन नसक्दा विराटनगर कारागार चलान गरिएको मोरङ प्रशासनका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी महेशराज तिम्सिनाले जानकारी दिए ।

भट्टराई माथि मोरङ प्रहरीले ‘बैंकिङ कसुर’ मुद्दामा पनि अनुसन्धान गर्दै आएको छ । बैंकको झण्डै १६ करोड रुपैयाँ हिनामिना भएको घटना भएपछि भट्टराई फरार हुने भएकाले सप्तकोशी बैंकले मोरङ प्रहरीमा अभद्र व्यवहारको मुद्दामा जाहेरी दिएको थियो । जाहेरीको आधारमा बैंकका जनरल सर्भिस डिपार्टमेन्ट (जीएसडी) प्रमुख रहेका भट्टराई १९ मंसिरमा पक्राउ परेका थिए ।