विराटनगर । अन्तरजातीय प्रेम विवाह गरेका मोरङको सुन्दरहरैचाका एक दलित युवाविरुद्ध केटी पक्षले बलात्कार आरोपमा मुद्दा दर्ता गरेको छ ।
मोरङको सुन्दरहरैँचा नगरपालिका–९ विराटचौक बजारमा सुन पसलमा काम गर्दै आएका २० वर्षीय भरत विश्वकर्मालाई केटी पक्षले छोरी अपहरण गरेर जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीमा मुद्दा दर्ता गरेको हो ।
विश्वकर्मा र १६ वर्षीया दनुवार थरकी बालिकाले एक महिनाअघि भागीविवाह गरेका थिए । खोजी गर्ने क्रममा कतै फेला नपरेपछि बालिकाका अभिभावकले दलित अगुवामार्फत केटालाई आफूले केही नगर्ने, आफ्नो छोरी मात्र उमेर नपुन्जेलसम्मका लागि छुटाएर लाने प्रतिबद्धता गर्दै केटाकेटी झिकाइदिन आग्रह गरेका थिए ।
सुन्दरहरैँचा नगरपालिका दलित उत्थान समितिका अध्यक्ष कुमार मिजारले केटाका आफन्तलाई भरतलाई केही हुन नदिने, आफू ग्यारेन्टी भएको भन्दै बोलाउन लगाएका थिए । सुरक्षाको आश्वासन पाएपछि घर आएका केटा र केटीलाई माघ २ गते आफन्तले इलाका प्रहरी बेलबारीको जिम्मा लगाएका थिए ।
इलाका प्रहरी बेलबारीले बलात्कार गरेको कसुरमा किटानी जाहेरी दर्ता गराउन भरतलाई सुनसरीको इटहरी प्रहरीको जिम्मा लगाएको थियो । बलात्कार गरेको पहिलो घटनास्थल दुहबी इलाकामा परेको भन्दै इलाका प्रहरी दुहबीलाई जिम्मा लगाएको थियो ।
केटाकेटी भागेर दुहबीमा आएर आफन्तकोमा बसेका थिए । सो स्थानमा बलात्कार भएको स्थान मानेर प्रहरीले जाहेरी दर्ता गरेको छ । सुन्दरहरैंचा नगरपालिका दलित उत्थान समिति अध्यक्ष कुमार मिजारले केटीका बाबु निर्माण व्यवसायी भएकाले पैसा र पहुँच प्रयोग गरेर निर्दाेष दलित युवालाई बलात्कार कसुरमा मुद्दा दर्ता गरेर अन्याय गरेको बताए ।

