विराटनगर । प्रशासनको निर्देशन अवज्ञा गर्दै सुनसरीको बर्जु गाउँपालिकाले महोत्सव सञ्चालनको अनुमति दिएको कारण मंगलबार वितण्डा भयो ।

सुनसरी प्रशासनले कोरोना महामारी बृद्धि भएको अवस्थामा २५ जनाभन्दा धेरै भेला हुने कार्यक्रम नगर्न सरकारको निर्देशन रहेकोले महोत्सब रोक्न निर्देशन दिएको भएपनि गाउँपालिका अध्यक्षले जबरजस्ती महोत्सव लगाएको पाइएको छ ।

बर्जु सामुदायिक विकास केन्द्रको नाममा आयोजित महोत्सवमा भारतीय कलाकार खेसरीलाल यादव नआउने भोजपुरी कलाकार यादव नआउने थाहा पाएपछि स्थानीयले तोडफोड गरेर वितण्डा मच्चाएका थिए । यादवको नाम बेचेर टिकट कटाएको आयोजकले उनी नआउने जानकारी दिएपछि महोत्वमा भेला भएका सयौं स्थानीयले महोत्सवस्थल, काउन्टर कक्ष, साउण्ड सेट, कुर्सी र चारवटा गाडीमा तोडफोड गरि आगजनी गरेका थिए ।

पुस २३ गतेदेखि महोत्सव चलाउन जिल्ला प्रशासन कार्यालयले सुरुवातमा अनुमति दिएको भएपनि कोरोना ह्वात्तै बढेपछि २७ गतेबाट महोत्सव रोक्न प्रशासनले गाउँपालिका र आयोजकलाई पत्र पठाएको थियो । तर, गाउँपालिकाले प्रशासनको परिपत्रलाई पनि चुनौती दिँदै महोत्सव रोक्न अटेरी गरेको थियो ।

प्रशासनको निर्देशन लत्याउँदै गाउँपालिका अध्यक्षको साथ पाएका आयोजकले खेसरीलालको नाममा टिकट बेचेका थिए । खेसरीलालको नाममा ३ सय र ५ सय रुपैयाँ दरको टिकट आयोजकले बेचेको थियो भने उनलाई ल्याउन १६ लाख रुपैयाँ अग्रिम भुक्तानी दिएको पनि खुलेको छ ।

मंगलबार खेसरीलाल महोत्सवमा नआएपछि दर्शकहरूले आक्रोशित हुँदै महोत्सवको स्टेज, साउण्ड सिस्टम, कुर्सी र ४ वटा स्कर्पियो गाडीमाथि जाइलागेका थिए । उनीहरुले एउटा सिटी सफारी र मोटरसाइकल पनि जलाए ।

खेसरीलालका नाममा टिकट बेचेर पनि नल्याएको भन्दै तोडफोड र आगजनीमा उत्रिएका दर्शकलाई रोक्न त्यहाँ तैनाथ सुरक्षाकर्मीले सकेनन् । ठूलो क्षति भएपछि प्रहरीले १५ सेल अश्रु ग्यास हानेर भीड तितरबितर बनाएको थियो ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले पुस २७ देखि नै महोत्सव रोक्न आयोजक र बर्जु गाउँपालिका अध्यक्षलाई पत्राचार गरेका थिए । तर, गाउँपालिका अध्यक्ष रघुनन्दन चौधरी अटेर गरेका थिए । पुस २७ को परिपत्रलाई अटेरी गरेपछि कोरोना बढेको भन्दै प्रशासनले माघ २ गते अर्काे पत्र पठाएर महोत्सव रोक्न भनेकोमा चौधरीले ‘म स्थानीय सरकारको प्रमुख हुँ, प्रशासनलाई मेला रोक्ने अधिकार छैन’ भन्दै मेला संचालनको अनुमति दिएका थिए । ‘स्थानीय सरकार मै हो, मेरो गाउँपालिकामा भएको कार्यक्रम रोक्ने अधिकार कसैलाई छैन’ भन्दै चौधरीले आयोजकलाई कार्यक्रम नरोक्न भनेका थिए । त्यसबारे प्रजिअ यादवसँग चौधरीको टेलिफोनमा पनि विवाद भएको थियो ।

सोमबार सदरमुकाम इनरुवामा केही दलका नेतासँग भएको छलफलमा पनि प्रजिअ यादवले महामारी बढेको बेला बर्जु गाउँपालिका अध्यक्षले महोत्सव रोक्न अटेरी गरेको गुनासो गरेका थिए । अध्यक्ष चौधरीले प्रजिअ यादवलाई महोत्सव रोकेर देखाउन चुनौती नै दिएको बताइएको छ ।
प्रजिअसँगको छलफलका क्रममा पनि अध्यक्ष चौधरीले धम्कीपूर्ण भाषा प्रयोग गरेको स्रोतले बताएको छ । उनले मेला आयोजक समिति अध्यक्ष सन्तोष उरावलाई फोन गरेर प्रशासनले जे भने पनि महोत्सव जारी राख्न भनेका थिए ।

आयोजक संस्थाका श्रवण चौधरीले प्रशासनको अनुमतिमा महोत्सव आयोजना गरेको भएपनि बिचमा प्रशासनले रोक्न निर्देशन दिएको बताए । भारतीय कलाकारलाई महँगो पारिश्रमिक दिइसकेकोले कार्यक्रम नरोकेको उनको भनाइ छ ।

भारतीय कलाकार यादव ३० जनाको टोली लिएर कार्यक्रमका मंगलबार बिहान ७ बजे नेपाल प्रवेश गरेका थिए । बिराटनगरको एसियाटिक होटलमा बसेका उनका सहयोगी कार्यक्रम स्थलमा पुगिसकेका थिए । तर, करिब १० बजेतिर यादव कार्यक्रममा जानलाग्दा प्रहरीले रोकेको थियो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जयसिंह थापाले संस्थाको नाममा गरिएको भएपनि यो महोत्सवको मुख्य आयोजक बर्जु गाउँपालिका नै भएको पाइएको बताए । सरकारले कोभिडका कारण २५ जनाभन्दा बढी जम्मा हुन नपाइने निर्णय २६ गते गरेसँगै २८ गते कार्यक्रम रोक्न पत्राचार गरिएकोमा गाउँपालिकाले अटेर गरेकोले घटनाको जिम्मेवार अध्यक्ष भएको उनको भनाइ छ । प्रजिअको पत्र र आग्रहलाई लत्याएका चौधरी आफैं अहिले मेलामा भएको क्षतिको दोष भने प्रशासनलाई देखाइरहेका छन् ।