सुनसरी । झण्डै ५ करोडको क्षति हुने गरी सुनसरीको बर्जु गाउँपालिकाको बर्जु महोत्सवमा भएको तोडफोड र आगजनीको छानबिन गर्न जिल्ला प्रशासन कार्यालय सुनसरीले समिति गठन गरेको छ ।

जिल्ला प्रशासन कार्यालय तथा जिल्ला सुरक्षा समन्वय समितिको बैठकले बर्जु महोत्सव आगजनीको घटनाको छानबिन गर्न पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो । पाँच दिनभित्र प्रतिवेदन पेश गर्न सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरिएको हो । समितिका सदस्यहरूमा प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्की, सशस्त्र प्रहरी नायब उपरीक्षक मित्रलाल श्रेष्ठ, किरण भट्टराई र बर्जु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद चौधरी रहेका छन् ।

उक्त घटनाको अनुसन्धान (दोषीको पहिचान) गरी जिल्ला प्रहरी कार्यालयले कारबाही प्रक्रिया अगाडि बढाउनेसमेत निर्णय गरिएको सुनसरी प्रशासनले जनाएको छ ।