विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले दैनिक सेवाप्रवाहलाई आलोपालो प्रणालीबाट प्रदान गर्ने भएको छ । सेवाग्राहीको अति भीडभाड हुने स्थानीय प्रशासनले सेवा क्षेत्रभित्रका स्थानीय तहलाई आलोपालो प्रणालीबाट सेवा प्रदान गर्ने निर्णय गरेको हो ।
जिल्ला प्रशासन कार्यालयले नयाँ नागरिकता जारीको कामका लागि सुन्दरहरैंचा नगरपालिका, बुढीगंगा र जहदा गाउँपालिकाका सेवाग्राहीलाई आइतबार र बुधबार सेवा प्रदान गर्ने भएको छ । यसैगरी विराटनगर महानगरपालिका, कटहरी र धनपालधानका सेवाग्राहीलाई सोमबार र बिहीबार, बेलबारी नगरपालिका, ग्रामथान र केराबारी गाउँपालिकालाई मंगलबार र शुक्रबार सेवाप्रवाह गर्ने निर्णय गरेको हो ।
माघ ५ गतेदेखि आलोपालो प्रणालीमा सेवा प्रदान गरिने मोरङका सहायक प्रमुख जिल्ला अधिकारी महेशराज तिम्सिनाले जानकारी दिए । उनले महामारीको समयमा सार्वजनिक सेवा प्रवाहका कामहरुलाई निरन्तर राख्नका लागि आलोपालो प्रणाली लगाइएको जानकारी दिए ।मोरङमा मालपोत कार्यालय विराटनगरका ६ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि आन्तरिक बाहेकको सेवा प्रवाह रोकिएको छ । जिल्ला प्रशासन कार्यालयमा अहिलेसम्म कुनैपनि कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छैन । त्यस बाहेक कोसी अस्पतालका कर्मचारी र विराटनगर महानगरपालिका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।