विराटनगर । प्रदेश २ को स्थायी राजधानी तोक्न भएको मतदान प्रक्रियामा ‘जनकपुर’ पारित भएको छ ।
सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठित विशेष संसदीय समितिले राजधानीका लागि प्रस्ताव गरेको पहिलो प्रस्ताव ‘उत्तरमा धनुषा ढल्केवरको पूर्व(पश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, दक्षिणमा नेपाल भारतको दशगजा सिमाना र पश्चिममा मिथिला माध्यमिकी परिक्रमाक्षेत्र भित्रको सम्पूर्ण भूभाग सिमाना कायम’ गरी राजधानी बनाउने प्रस्ताव पारित भएको हो ।
यो प्रस्तावको पक्षमा ७८ मत प्राप्त भएको छ भने विपक्षमा अन्य मत परेको थियो । मतदानमा ९९ जना सांसदले सहभागीता जनाएका थिए । राजधानी सम्बन्धी प्रस्ताव पारित हुन प्रदेशसभाको कुल १ सय ४ सदस्यको दुई तिहाई ६८ मत हुन्थ्यो ।