सङ्घीयता कार्यान्वयनमा सबैको भूमिका महत्वपूर्ण रहन्छ : मन्त्री कार्की

विराटनगर । प्रदेश नं १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले सङ्घीयताको कार्यान्वयनमा सबैको भूमिका महत्वपूर्ण रहने बताए ।

संवाद समूह प्रदेश १ ले मङ्गलबार आयोजना गरेको सङ्घीयताको चार वर्ष र नागरिकका अपेक्षा विषयक छलफलमा उनले सङ्घीयता कार्यान्वयनमा सबै उत्तिकै महत्वपूर्ण भूमिकामा रहने बताए ।

‘सरकारले राम्रो काम गर्ने हो । प्रतिपक्षीले नराम्रो भयो भने देखाइदिने हो,’ उनले भने, ‘नागरिक सजक बन्नुपर्ने हो ।’ आफूहरू सङ्घीयता पछि सरकार र प्रतिपक्षी दुवैको भूमिकाको अनुभव बटुलेकाले अहिले सरकारमा आएकोले राम्रा काम गर्ने बताए ।

व्यक्ति आफ्नै सर्वैसर्वा ठान्ने प्रवृत्ति समाजमा व्याप्त रहेको उनको भनाइ छ । ‘नेता उस्तै, अनि ताली दिनेको कमी छैन,’ उनले भने, ‘सबै सचेत भएर लाग्नुप¥यो ।’ सङ्घीयता आएपछि विकास नै भएन भन्ने मानसिकता भने तोड्न उनको आग्रह छ । आर्थिक तथा सामाजिक क्षेत्रमा भइरहेको प्रगतिलाई पनि सङ्घीयताको उपलब्धिका रूपमा लिन सकिने मन्त्री कार्कीको भनाइ छ ।

अहिलेको सरकार एक वर्षसम्म निर्धक्क चल्ने बताउँदै उनले अस्थिरताले पनि काममा बाधक बनाएको बताए । कानूनी अभाव र साना काममा पनि केन्द्रकै मुख ताक्नु पर्दा पनि समस्या हुने गरेको उनको भनाइ छ । अहिले हिजोको भन्दा ठूलो प्रतिपक्षी रहेको उल्लेख गर्दै उनले प्रदेश नामकरणका सन्दर्भमा सहकार्य आवश्यक रहेको बताए ।

कार्यक्रममा सहभागी वक्ताहरूले सङ्घीयता आएपछि आफ्नो अधिकार स्थापित गर्नुपर्ने कुरामा जोड दिएका छन् । सङ्घीयता पछि वित्तीय तथा आर्थिक, प्रशासनिक क्षेत्रमा सुधार, पूर्वाधारको क्षेत्रमा लगानी बढीरहेको, शासकीय पद्धतिको स्वरुप बद्लिएको बताएका छन् ।

सहभागीहरूले प्रदेश संरचना आएपछि अधिक खर्चको भार बढिरहेको पनि बताएका छन् । कार्यक्रममा प्राध्यापक कृष्ण पोखरेल, पूर्व राज्यमन्त्री जसमाया गजमेर, विभिन्न पालिकाका प्रमुख उपप्रमुखलगायत सरोकारवाला निकायका प्रतिनीधिले सहभागिता जनाएका थिए ।

बुधबार, २८ पुष, २०७८, बिहानको १०:५४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर