विराटनगर । सौर्य एयरलाइन्सका विराटनगर प्रमुख पक्राउ परेको घटनामा फेला परेको पैसा टिकटबाट उठेको सौर्य एयरले दाबी गरेको छ ।

टिकट वापतको ५० लाख रुपैयाँ सौर्य एयरलाइन्सको विमान मार्फत काठमाडौँ पठाएको सौर्य एयरलाइन्सका अध्यक्ष दीपक पोखरेलले बयान दिएका छन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट बरामद ५० लाख रुपैयाँ कम्पनीको भएको अनुसन्धान अधिकृतसमक्ष बयान दिएका छन् । अनुसन्धानमा संलग्न अधिकृतले पोखरेलको भनाई उदृत गर्दै भने,‘एयरलाइन्सको टिकटबाट उठेको पैसा ल्याइएको हो, यो कम्पनीको पैसा हो ।’

प्रहरीले गत शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलबाट एयरलाइन्सकी कर्मचारी विराटनगर–४ की ३३ वर्षीया रेशा शाक्य पोखरेललाई ५० लाख रुपैयाँसहित पक्राउ गरेको थियो । प्रहरीले पक्राउपछि थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागको जिम्मा लगाएको थियो । विभागले शाक्यसहित तीनजना कर्मचारी नियन्त्रणमा लिएपछि अध्यक्ष पोखरेलले सौर्य एयरलाइन्सकै लेटरप्याडमा ५० लाख रुपैयाँ कम्पनीको भएको दाबी गरेका थिए ।

अनुसन्धान अधिकृतले टिकटबाट उठेको रकम बैंकिङ च्यानलबाट किन नपठाएको ? कम्पनीको पैसा किन चाउचाउको कार्टुनमा पठाएको भन्दै प्रश्न गरेका थिए । बयानका क्रममा यी प्रश्नको जवाफ पोखरेलले खुलेर दिन नसकेको अनुसन्धान अधिकृतको भनाइ छ ।