विराटनगर । नेपाल उद्योग परिसंघ प्रदेश १ ले जोगबनी नाका भएर विराटनगर भन्सार मार्फत हुने निकासी तथा पैठारी हुने मालसामानहरू विगत दुई दिन देखि बन्द भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।
फारबीसगञ्जको बीचमा रहेको पुरानो मिरगञ्ज पुल क्षतिग्रस्त भइ यातायात खासगरी मालसामान लिएर आवात–जावत गर्ने ठूला सवारी साधनहरु ठप्प भएका छन् । जसका कारण औद्योगिक करिडोर क्षेत्रका सबै उद्योग कारखाना प्रभावित बन्न पुगेको परिसंघले जनाएको छ ।
सामान समयमै ल्याउन नसक्दा कतिपय औद्योगिक सामाग्री बाटैमा नष्ट हुने अवस्था आइपरेको, धेरै दिनसम्म सवारी साधन अलपत्र रहँदा ढुवानी लागत बढ्ने भई उत्पादन मूल्य बढी लाग्ने भएको र कच्चा पदार्थ र केमिकल्सको अभावमा उद्योगहरू बन्द गर्नु पर्ने अवस्था आउन सक्ने परिसंघले जनाएको छ ।
उद्योग परिसंघ प्रदेश १ ले आकस्मिक बैठक बसी यी सबै समस्याको वैकल्पिक व्यवस्था मिलाउन नेपाल र भारत सरकारका सम्बद्ध पदाधिकारीको ध्यानाकर्षण गर्ने निर्णय गरेको छ । यसका साथै परिसंघका अध्यक्ष भीम घिमिरेको नेतृत्वको टोलीले क्षतिग्रस्त मिरगञ्ज पुलको स्थलगत निरीक्षण गरेको जनाएको छ । पुलको तत्काल मर्मत गरि यातायात खुलाउने पहल गरिदिन र सो मर्मत कार्य पुरा नभएसम्म नेपाल आउने औद्योगिक तथा व्यापारिक मालसामानहरु ल्याउन भिमनगर हुँदै सुनसरी भन्सारको बाटोबाट ल्याउन वा अन्य वैकल्पिक व्यवस्था तत्काल गर्न माग पनि गरेको छ ।
परिसंघले उक्त माग नेपालतर्फ विराटनगर भन्सार कार्यालयका प्रमुख र भारतीय भन्सार जोगबनीका सम्बद्ध अधिकारीलार्इ लिखित रुपमै ध्यानाकर्षण गरिएको जनाएको छ ।

