संखुवासभा । चिचिला गाउँपालिका अध्यक्षले कीर्ते कागजात बनाएर अमेरिका जान लागेको भन्दै नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) पार्टीले विज्ञप्तिमार्फत कारबाही माग गरेका छन् ।
गत मंसिर २४ गते बसेको गाउँ कार्यपालिकाको बैठकले आगामी माघ ४ र ५ गते अमेरिकामा हुने छैठौं स्मार्ट सिटिज टेक्नोलोजी सिम्पोजियम एन्ड एक्जिबिसनमा सहभागी हुने जाने टोलीको खर्च गाउँपालिकाले व्यहोर्ने निर्णय गरेको थियो । गाउँपालिका अध्यक्ष पासाङ नुर्व शेर्पाले अमेरिका भ्रमणका लागि संवैधानिक आयोगका सदस्य र छोरासहित नौ जनाको खर्च व्यहोर्ने गरी मंसिर २४ गते गाउँपालिकाबाट निर्णयको किर्ते कागज बनाएका थिए ।
किर्ते कागज बनाएर अमेरिका जान लागेको भन्दै नेकपा (माओवादी केन्द्र) चिचिला गाउँ कमिटीले विज्ञप्तिमार्फत कारबाहीको माग गरेको छ । मंसिर २४ गते कार्यपालिकाको १०१ औं बैठकले गरेको ११ औं नम्बरको निर्णय प्रति गम्भीर ध्यानाकर्षण भएको नेकपा (माओवादी केन्द्र) चिचिला गाउँ कमिटीका अध्यक्ष डम्बरजङ्ग गुरुङले बताए । सत्यतथ्य सार्वजनिक गर्न र दोषी उपर कार्रवाहीको माग माओवादीले गरेको छ ।
त्यस्तै नेकपा (एमाले) जिल्ला कमिटी संखुवासभाले बिहीबार विज्ञप्ति जारी गर्दे विदेश भ्रमणको कार्यक्रम, सहभागी विनियोजित रकमका बारेका भएको नीतिगत निर्णय र आर्थिक अपचलनको बिषयमा संविधान, स्थानीय सरकार संचालन ऐन, कार्यविधि विपरीत भएको भन्दै सरोकारवाला निकायसँग कारवाहीको माग गरेको छ ।
कागज किर्ते गर्न गाउँपालिका अध्यक्ष शेर्पा माथि कडा कारवाही नभए नेकपा एमाले टुलुटुलु हेरेर नबस्ने एमालेका अध्यक्ष जितबहादुर घिमिरेले बताए । गाउँपालिकाको ७७ लाख खर्चमा पालिका अध्यक्ष सहित सहित संवैधानिक आयोगका अमेरिका निर्णयको अहिले चौतर्फी विरोध भएको छ ।
गाउँपालिकाले ९ जनाको टोली अमेरिका पठाउने ७६ लाख ९६ हजार ५० रुपैयाँको अनुमानित खर्च विवरण पनि पास गरेको थियो । अमेरिकामा हुने कार्यक्रममा सहभागी गराउन गाउँपालिका अध्यक्ष पासाङ नुर्बु शेर्पा, राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा, राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णकुमारी पौडेल खतिवडा, महिला आयोगकी उपसचिव अञ्जु ढुंगाना, नायब सुब्बा मेगेन्द्र न्यौपाने, छोरा थिलेन शेर्पा, नरेश रिजाल, सुजिना भट्ट र दिपेश रिजाल पठाउने निर्णय गरको थियो । दलित आयोगका अध्यक्ष विश्वकर्मा, महिला आयोगकी सदस्य पौडेल, चिचिला गाउँपालिकाका अध्यक्ष शेर्पागरी तीन जनाले १० दिनको भ्रमण र दैनिक भत्ता (टीएडीए) बापत प्रतिव्यक्ति २२ सय ५० डलर (प्रतिदिन २ सय २५ डलर) पाउने उल्लेख छ ।
त्यसैगरी अञ्जु ढुंगाना थिलेन शेर्पा र नरेश रिजालले १२ सय ५०, मेगेन्द्र न्यौपाने, सुजिना भट्ट र दिपेश रिजालले नौ सय डलर (९० डलर प्रतिदिन) का दरले टीएडीए पाउने गरी गाउँपालिकाले निर्णय गरेको थियो ।
अमेरिकामा हुने कार्यक्रममा व्यक्तिगत खर्चमा जाने गरी प्रक्रिया अघि बढाइएको हो : अध्यक्ष शेर्पा
भ्रमण खर्चको विषयलाई लिएर चर्को विरोध भएपछि अध्यक्ष शेर्पाले पत्रकार सम्मेलन गरेर खण्डन गरेका छन् । स्मार्ट सिटी सम्बन्धी अमेरिकाको सिकागोमा हुने कार्यक्रममा निम्तो आएपछि व्यक्तिगत खर्चमा जाने गरि प्रक्रिया अघि बढाइएको अध्यक्ष शेर्पाले बताए । आयोजकबाट पालिकालाई निम्तो दिइएको र सोही अनुसार संवैधानिक आयोगका पदाधिकारीहरु समेत सहभागी गराउने गरि कार्यपालिकाले निर्णय गरेको अध्यक्ष शेर्पाले बताए ।
संवैधानिक आयोगका पदाधिकारीहरुलाई टोलीमा राख्दा भिजा लाग्ने सम्भावना बलियो हुने भएकोले उनीहरुलाई संलग्न गर्न खोजिएको अध्यक्ष शेर्पाले जानकारी दिए । जनप्रतिनिधि भएपछि मात्र एसिया र युरोपका ६ देशको भ्रमण गरिसकेको र त्यस क्रममा पालिकालाई कुनै व्ययभार नगराएको अध्यक्ष शेर्पाले बताए ।
जनताबाट संकलित राजश्व व्यक्तिगत लाभका लागि खर्च गर्न नहुनेमा आफू सचेत रहेकोले हालसम्म भ्रमण शीर्षकमा पालिकालाई खर्च नगराएको शेर्पाको भनाइ छ । जनप्रतिनिधि भएपछि फ्रान्स, स्पेन, बेल्जियम, नेदरल्याण्ड, बंगलादेश र भारत भ्रमण गरिसकेको अध्यक्ष शेर्पाले जानकारी दिए । अध्यक्ष शेर्पाका अनुसार अहिले पनि आफ्नै व्यक्तिगत खर्चमा अमेरिका जान लागेको बताए ।



अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!